कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध

चैत्र १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध

काठमाडौं । नेपाल विद्युत् प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । मन्त्रिपरिषद्को निर्णयको मुख्य सत्ता घटक नेपाली कांग्रेसका नेता, विपक्षी र नागरिक समाजबाट आलोचना भइरहेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले घिसिङलाई हटाउने सरकारको निर्णय आपत्तिजनक भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले हिजो साँझ सामाजिक सञ्जालबाट सरकारको उक्त कदमको कडा आलोचना गर्नुभएको हो ।

देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा आफ्नो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको दाहालले उल्लेख गर्नुभएको छ । कुलमानले बक्यौता पैसा उठाउनुपर्छ भनेकै कारण सरकारले पदबाट हटाउने उद्देश्यका साथ पटक-पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको पनि अध्यक्ष दाहालले उल्लेख गर्नुभएको छ ।

प्रमुख सत्ता घटक नेपाली कांग्रेसबाट पनि सरकारको निर्णयको विरोध भइरहेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै अन्य नेताहरुले घिसिङलाई हटाउने निर्णयमा असन्तुष्टि जनाएका छन् । महामन्त्री थापाले निर्णय सरासर गलत भएको भन्दै सरकारले आफूहरुलाई ढाँट्ने काम गरेको बताउनुभयो ।

उहाँले नागरिकको असन्तुष्टि हटाउने काम गर्नुपर्ने बेला जानीजानी सरकारबाट यस्तो काम गरिएको टिप्पणी गर्नुभयो । हात हाल्नै नपर्ने ठाउँमा हात हालेर सरकारले जबर्जस्ती समस्या सिर्जना गरेको पनि उनको थापाको भनाइ छ ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर सरकारले गलत कदम चालेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले कुलमानलाई हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नभएको दाबी गर्नुभएको छ ।

सरकारले गरेका राम्रा काम पनि छायामा पार्ने गरी सरकारले कुलमानलाई हटाएको महामन्त्री शर्माको भनाइ छ । कांग्रेस नेता शेखर कोइरालाले सरकारको यो निर्णयको कांग्रेसले स्वामित्व लिन नहुने बताउनुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले पनि कुलमानलाई हटाएर सरकारले जनताको आक्रोश बढाउने काम गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले पनि कुलमान घिसिङलाई हटाउने निर्णयको विरोध गरेका छन् ।

सरकारको निर्णयको नागरिक समाजबाटसमेत सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । घिसिङलाई साउनयता चार पटक मन्त्रीस्तरीय र एक पटक मन्त्रिपरिषद्को निर्णयका आधारमा स्पष्टीकरण सोधिएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले घिसिङलाई २०७८ साउन २५ मा दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

समय दिउँसो ४:०९

कुलमानलाई पदमुक्त गरिएकोमा काठमाडौंमा विभिन्न राजनीतिक दल तथा समूहहरुको प्रदर्शन 

प्रहरीले बढायो सुरक्षा सतर्कता

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा विभिन्न राजनीतिक दल तथा समूहहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेपछि एकीकृत समाजवादी पार्टीको भातृ संगठन अनेरास्ववियु, राप्रपाका कार्यकर्ता तथा अन्य समूहहरुले प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ ।

एकीकृत समाजवादीका भातृ संगठनले प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गरे भने उनीहरु सँगै राप्रपाका कार्यकर्ता पनि मिसिएको प्रहरीको भनाइ छ । त्यस्तै विभिन्न अभियन्ताहरू पनि विरोधमा उत्रिएका छन् ।

नेकपा माओवादी केन्द्रको भातृ संगठन- वाइसिएलले पनि नयाँ बानेश्वरबाट माइतीघरसम्म प्रदर्शन गर्दैछ । सबैतिर भइरहेको विरोध प्रदर्शनका कारण काठमाडौंमा यातायात सञ्चालन प्रभावित भएको छ ।

सुरक्षा निकायले विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय तथा विरोध प्रदर्शन भइरहेका स्थानहरूमा सुरक्षा तैनाथी बढाएको छ । चैत १५ गते एकै दिन राजतन्त्र समर्थक र समाजवादी मोर्चाले कार्यक्रम राखेपछि सुरक्षा चुनौती थपिएको भन्दै योजना तयार पारिरहेको सुरक्षा निकायका लागि सरकारको पछिल्लो निर्णयले थप सतर्कता अपनाउनु पर्ने बनाएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार अहिले भैरहेका प्रदर्शनहरुलाई मध्यनजर गरेर प्रहरीले सतर्कता अपनाएको जानकारी दिनुभयो । विभिन्न स्थानहरूमा प्रदर्शन भइरहेको र त्यसमा कुनै दुर्घटना नहोस् भन्नेतर्फ सचेत रहेर प्रहरी परिचालन गरिएको एसएसपी अधिकारीले जानकारी दिनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.