दुई बालकको मृत्युले तनावग्रस्त बाँकेको बेतहनी, प्रहरी चौकीमा समेत आगजनी

चैत्र १०, २०८१ |जे पाण्डे
दुई बालकको मृत्युले तनावग्रस्त बाँकेको बेतहनी, प्रहरी चौकीमा समेत आगजनी

बाँके । बाँकेको डुडुवा गाउँपालिका-२ बेतहनीमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार अपराह्न साढे ३ बजेतिर भे१ख ४१०७ नम्बरको ट्यांकरको ठक्करबाट स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको हो ।

स्थानीयका अनुसार दुवै जना बेतहनीको नौरीगढी एकेडेमीमा एलकेजीमा अध्ययनरत थिए । स्कुलबाट फर्किदै गर्दा बेतहनी चोकमा ट्यांकरले उनीहरूलाई ठक्कर दिएको थियो । ठक्करबाट सुरुमा सडकमा लडेका उनीहरू चिच्याउँँदै गर्दा ट्यांकरले किचेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

प्रहरीका अनुसार दुवै जना अन्दाजी ९/१० वर्षका सहोदर दाजुभाइ हुन । घटनापछि स्थानीय बासिन्दाले ट्यांकरमा आगजनी गरिदिएका छन् भने अहिले घटनास्थल तनावग्रस्त बनेको छ । 

प्रहरी र स्थानीय बासिन्दाबीच झडप भइरहेको छ । चालकलाई कारबाहीको माग गरेका स्थानीय बासिन्दाले प्रहरी चौकी बेतहनी घेरेका छन् । साथै, अहिले स्थानीयले प्रहरी चौकीमा आगजनी समेत गरिदिएका छन् । प्रहरीले चालकलाई लुकाएको भन्दै उनीहरू आक्रोशित भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डीएसपी दीपक पातलीले दुई बालकको शव घटनास्थलमै राखेर प्रदर्शन भइरहेको बताउनुभयो । “अहिले स्थिति तनावग्रस्त छ। घटनास्थलमा प्रहरीले दर्जनौं सेल अश्रुग्यास र हवाइ फायर गरेको छ । स्थानीयले बालकको शव सडकमै राखेर प्रदर्शन गरेका छन्”, उहाँले भन्नुभयो ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।