मधेस प्रदेशमा पानीको समस्या विकराल बन्दै

चैत्र १०, २०८१ |अनिल मिश्र
मधेस प्रदेशमा पानीको समस्या विकराल बन्दै

जनकपुर । मानव जनसंख्याको तिव्र वृद्धिसँगै बढेको वनजंगल विनाश र प्राकृतिक स्रोतको दोहनले पानीका मुहान सुक्दै गएका छन् । जलाधार क्षेत्रको संरक्षण तथा व्यस्थापनको अभावमा प्रशस्त जलस्रोत भएपनि नेपालको धेरै ठाउँमा खानेपानी अभाव छ । 

जलाधार संरक्षणका नाममा तीनै तहका सरकारले वर्षेनी ठूलो धनराशी खर्चिदै आएपनि ठोस उपलब्धी भने देखिएको छैन ।

मधेस प्रदेशका नौ लाख ३१ हजार तीन सय ३१ घरधुरीमध्ये झण्डै ७७ प्रतिशतको पिउने पानीको मुख्य स्रोत चापाकल हो । तर, भूमिगत पानीको सतह घट्दै गएकाले प्रदेशको राजधानी जनकपुरधाम, आर्थिक नगरि वीरगंजलगायतका शहरमा पानीको समस्या विकराल बन्दैगएको छ । 

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार प्रदेशका १२ दशमलव १५ प्रतिशत घरधुरी त खानेपानी प्रणालीमै समेटिएका छैनन् भने १० दशमलव ४६ घरधुरीमा मात्रै पाइप प्रणालीबाट पानीको पहुँच पुगेको छ । 

त्यसबाहेक ७६ दशमलव ९१ प्रतिशत घरधुरीमा चापाकल, शून्य दशमलव ४७ प्रतिशतमा अन्य सुरक्षित स्रोत र शून्य दशमलव ०१ प्रतिशतलाई वर्षातको पानीको भर छ । मानिसले खानेपानीको जोहो जसोतसो गर्दै आएपनि वर्षातको पानीको व्यवस्थापन र पुर्नभरणको अभावमा पशुचौपाया र खेतीपातीमा ठूलो समस्या देखापरेको छ ।

मानव बस्ती विस्तार सागै प्राकृतिक स्रोतको अधिक दोहन, वनजंगल विनाश, जलाधार क्षेत्रको संरक्षण तथा व्यस्थापनको अभाव र बालुवा गिटी सिमेन्टको मिश्रणले जताततै ढलान गर्ने बढदो प्रवृतिले देशभर पानीको समस्या चुलिएको हो । 

चुरे डााडाहरूबाट बाढीसागै बगेर जाने बालुवा, गिटी र माटोले तराई मधेशका खोलाहरू झनै चौडा हुादै गएको र नदीहरुको सतह अगग्लिदै गएको छ ।

चुरे क्षेत्रमा सबै भन्दा बढी ७९ प्रतिशत, हिमाली क्षेत्रमा ६४ प्रतिशत र पहाडी क्षेत्रमा ४६ प्रतिशत पानीका मुहान सुकेको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ । चुरे जलाधार क्षेत्रको संरक्षण एवं व्यस्थापनको अभावमा पानीका लागि विश्वमै धनी कहलिएको हाम्रो देशमा खानेपानीसमेत अभाव हुनथालेको छ ।

तीनै सरकारले प्रयास थाले पनि त्यसको ठोस परिणाम देखिएको छैन । भविष्यमा पानीको अझ विकराल समस्या हुने चिन्ताले मधेशका जनता पानीको माग गर्दै लामो समयको पदयात्रा गर्दै काठमाडांैको माइतीघर पुगी धर्ना नै बसेका थिए । 


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।