सिरहा । सिरहामा महायज्ञका नाममा दलित परिवारमाथि ज्यादती गरिएको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ गरेका छन् । उनीहरूलाई आज साँझ नियन्त्रणमा लिइएको मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिनुभयो। उनीहरूसँग प्रारम्भिक सोधपुछ गर्ने काम भइरहेको र भोलि पीडित परिवारसँग जाहेरी लिने उहाँले बताउनुभएकोछ । जातीय छुवाछुत कानुनी अपराध हो । यसका लागि देशमा कानुन छ, ऐन छ, संविधानमै जातीय छुवछुतविरुद्धको हक प्रत्याभूत गरिएको छ । तर, संविधान, कानुन र मानव चेतनालाई नै गिज्याउने गरी मुलुकमा पटकपटक जातीय उत्पीडनका घटना हुँदै आएका छन् ।
सिरहाको औरही गाउँपालिका ५ मा अछुत भन्दै महायज्ञ स्थलमा रहेको स्थानीय दीपक मल्लिकको घर डोजर लगाएर भत्काइयो । गाउँपालिका अध्यक्ष शिवजी यादव, बजरंगी बाबा र पूर्ववडाध्यक्ष दिलीप यादवले त्यहाा घर भत्काइदिएर अहिले उनीहरुलाई गाउँकै एकान्तमा अस्थायी टहरा बनाइदिएर राखिदिएका छन् । यो घटना बाहिरिएपछि अहिले यसको सर्वत्र विरोध भइरहेको छ । जातीय छुवाछुतजस्तो गम्भीर मानवता विरोधी कसुरमा संलग्न तीनै जनालाई कारवाहीको दायरामा ल्याउन माग भइरहेको छ । तर, यो घटनामा अहिलेसम्म कोही पनि पक्राउ पर्न सकेका छैनन् । बरु उल्टै गाउँपालिका अध्यक्षले अख्तियारको दुरुपयोग गर्दै पुरानो मितिमा बिहिबार मात्रै आफूहरु राजीखुशी सरेको भन्दै पीडितसँग मञ्जुरीनामा हस्ताक्षर गराए ।
गत माघ ३० मा सिरहाको नवराजपुर गाउापालिका १ भगवतीपुरकी रिंकुकुमारी सदा आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिइन् । त्यसअघि माघ २७ गते राति उनी गाउँकै तीन युवकबाट सामूहिक जबरजस्ती करणीमा परेकी थिइन् । तर, पीडितलाई प्रहरीमा पठाउनुको साटो कथित उपल्लो जातिका व्यक्तिले पञ्चायती गरेर गाउँमै घटना मिलाउन प्रयास भएपछि रिंकु मृत भेटिएकी थिइन् । यस घटनामा पनि कतै न कतै जातीय अपहेलन जोडिएको छ ।
२०७७ जेठमा जाजरकोटको भेरी नगरपालिका-४ रानागाउाका २१ वर्षका नवराज विक आँनी प्रेमिकासँग विवाह गर्न साथीहरुसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउा पुगेका थिए । त्यस क्रममा किशोरीका आफन्त र गाउालेले लखेटीलखेटी नवराज विकसहित ६ जनाको हत्या गरे । यस घटनामा अदालतले २३ जनालाई जन्मकैद गरेको छ । मिडियाले उठाइदिएपछि बल्ल राज्य जागेको र कारबाही गरेको यी उदाहरण घटना हुन् । कानुनको कार्यान्वयन गर्ने ठाउँमा नै उच्च जातीको अहंकार लिएर बसेका मानिसहरुको बर्चस्व भएकोले अधिकांश यस्ता घटना दबाउने गरिएको र सोही कारण यस्ताले निरन्तरता पाउने गरेको सामाजिक अगुवा बताउँछन् ।
जातीय छुवाछुत अमानवीय अपराध हो । यसले मानव चेतनालाई नै गिज्याउँछ । त्यसैले समाज र राज्य सच्चिन आवश्यक छ, संवेदनशील हुन जरुरी छ ।