काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भावनामा डुबेर नेपालले दोहोरो नागरिकता दिन नहुने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभामा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१’ माथि भएको छलफलमा सांसदहरूले राखेको सुझावका विषयमा जवाफ दिँदै उहाँले गैरआवासीय नेपालीलाई नेपाली नागरिकभन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरेको बताउनुभयो । नेपाली नागरिकता त्याग गर्न नचाहने गैरआवासीय नेपाली मूलका व्यक्तिलाई मात्रै गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “भावनामा नडुबिकन नेपालले अहिलेसम्म दोहोरो नागरिकताको प्रावधानलाई स्वीकारेको छैन । त्यसकारण हामीले के नबुझौं भने गैरआवासीय नागरिकता प्राप्त व्यक्ति भनेर किन भन्नु परेको ? यो कुरा तपाईं हामी यहाँ बसेका सबै माननीयज्यूहरू हुनुहुन्छ, उहाँहरूले प्राप्त गरेको नागरिकता हामीले प्राप्त गरेको जस्तो जनरल होइन । त्योभन्दा भिन्न भएको हुनाले सहुलियतको रूपमा उनीहरूलाई गैरआवासीय नागरिकता प्रदान गरेको । त्यसकारण गैरआवासीय नागरिकता त्यस्ता व्यक्तिलाई दिएको छ जो नेपाली मूलको विदेशी नागरिक छ र त्यहीँ बसेको छ, जसले हाम्रो नागरिकता त्याग नगर्ने कुरा गरेको छ ।”
सञ्चारमन्त्री गुरुङले विदेशमा बसेको नेपाली मुलका नेपाली नागरिकलाई दुई वर्षका लागि भिसा सहुलियत दिने व्यवस्था गरिएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल