काठमाडौं । नेविसंघले पद्मकन्या क्याम्पसमा स्ववियु सभापतिको आधिकारिक उम्मेदवार भुपी ऐरलाई कायम गरेको छ ।
पद्मकन्याको स्ववियु सभापतिका लागि नेविसंघका पूर्णिमाया परियार र भुपी ऐर दुई जनाले स्ववियु सभापतिका लागि उम्मेदवारी दर्ता गराएका थिए ।
परियारले नेविसंघबाट र ऐरले स्वतन्त्र समूह बनाएर उम्मेदवारी दर्ता गराएकी थिइन् । निर्वाचन समितिले नेविसंघ केन्द्रीय कार्यालयलाई पत्र लेखेर आधिकारिक उम्मेदवारबारे सोधेको थियो ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले निर्वाचन समितिलाई पत्र लेखेर भुपी ऐर आधिकारिक उम्मेदवार भएको जवाफ दिएका छन् । परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन् ।
स्ववियु निर्वाचनका लागि पद्मकन्या क्याम्पसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले गठबन्धन गरेका छन् । सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे र सचिवमा अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राईको उम्मेदवारी परेको छ ।
अनेरास्ववियुले सभापतिसहित चार पद लिने सहमति भएको छ ।