श्रमिकलाई सम्झौताअनुसार सेवा-सुविधा नदिने मेनपावरलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यनाकर्षण

चैत्र ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
श्रमिकलाई सम्झौताअनुसार सेवा-सुविधा नदिने मेनपावरलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यनाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सम्झौताअनुसार पारिश्रमिक दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिहरु ठगिएको, समस्या परेको र दुतावासमा समस्या राख्दा बेवास्ता गर्ने गरेको गुनासो आउने गरेको भन्दै यस्तो ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले युएई र मलेसियाको सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकहरुले सम्झौताअनुसार पारिश्रमिक, विदा र औषधि उपचार उल्लेख गर्नुभयो । मेनपावर कम्पनीहरुले श्रमिकहरुलाई भनेअनुसारको सेवा सुविधा नदिने र गुनासो गर्दा धम्क्याउने गरेको समेत बताउनुभयो ।

उहाँले मुलुक रेमिट्यान्सले चलिरहेको अवस्थामा श्रमिकहरुलाई सम्झौताअनुसारको सेवा सुविधा दिलाउन र श्रमिकलाई दुःख दिने मेनपावर कम्पनीहरुलाई कानूनी दायरामा ल्याउन समेत माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्सले टेको दिएको विदितै छ । तर उनीहरुको पीडा भने हामीले बुझ्न सकेका छैनौं । दैनिक जसो मेरो सचिवालयमा ठगिएको, समस्या परेको र दुतावासमा समस्या राख्दा बेवास्ता गर्ने गरेको गुनासो आउने गरेको छ । हालै युएई र मलेसियाको सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकहरुले सम्झौताअनुसार पारिश्रमिक, विदा र औषधि उपचार नपाएको गुनासो हामीमाझ गर्नुभएको छ । यता मेनपावरले मोटो रकम असुल्ने र भनेजस्तो काम नदिएको गर्दा श्रमिकहरुलाई थर्काउने र धम्क्याउने गरेको उनीहरु बताउँछन् । त्यसैले नेपाली श्रमिकहरुको अवस्था बुझेर सम्झौताअनुसारकै सेवा सुविधा दिलाउन र श्रमिकलाई दुःख दिने मेन पावर कम्पनीहरुलाई कानूनी दायरामा ल्याउन श्रम मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले वर्षातको समय नजिकिएकाले बाढीको जोखिम भएका नदिहरुमा तटबन्धको व्यवस्था गर्न समेत माग गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement