काठमाडौं । सोमबारबाट प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सहित ९ उच्च अधिकृतहरू एकसाथ अवकाशमा जाँदैछन् । प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक्षकहरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई पनि अवकाशमा जान लाग्नु भएको हो ।
त्यस्तै डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउतले पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जानु हुनेछ । तर सरकारले अहिलेसम्म आगामी महानिरीक्षकको टुंगो लगाएको छैन । एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ महानिरीक्षकको प्रतिस्पर्धामा छन् ।
सरकारले भोलि सोमबार बस्ने मन्त्रिपरिषद्बाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने तयारी गरेको छ । करिब ८० हजार जनशक्ति रहेको सुरक्षा संगठनको नेतृत्व चयनको निर्णय समयमा नगर्दा गलत समूहले चलखेल गर्ने मौका पाइरहेको भन्दै अलोचना भएको छ । प्रहरी महानिरीक्षक नियुक्तिमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालाई आधार मान्ने नियमावलीमा व्यवस्था छ ।