काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले पम्परागतभन्दा फरक ढंगले सुरक्षा चुनौती बढ्दै गएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षाको उच्चस्तरीय तालिमको उद्घाटन गर्दै प्रधानसेनापति सिग्देलले राज्यका सबै निकायको सुरक्षा सम्बन्धी एउटै धारणा बनाउनुपर्ने बताउनुभएको हो ।
अन्तर्राष्ट्रिय स्तरमा बनिरहेका कतिपय क्षेत्रीय सुरक्षा अवधारणा नेपालका लागि अनुकूल नुहने उहाँको भनाइ छ । अन्य देशहरूले बनाएको अवधारणा उनीहरूको उद्देश्यसँग जोडिने भएकाले नेपालले त्यसको विश्लेषण गरेर आफनो आवश्यकता अनुसार चल्नुपर्ने प्रधानसेनापति सिग्देलको सुझाव छ । अरूको अवधारणा जस्ताको तस्तै उतार्दा आफनो अनुकूल नहुन सक्ने भएकाले नेपालले आफनै शैली अनुसार योजना बनाउनु पर्ने उहाँको भनाइ छ । सुरक्षा परिस्थितिको सही विश्लेषणका लागि सबै निकायबीच एकरूपता चाहिने प्रधानसेनापतिले प्रस्ट पार्नुभयो ।
रक्षासचिव रामेश्वर दंगालले पनि बदलिँदो विश्व राजनीतिक परिस्थिति र नेपालको भूराजनीतिक सम्बन्धमा आउन सक्ने बदलाव अनुसार राष्ट्रसेवकबीच राष्ट्रिय सुरक्षा सम्बन्धी समान धारणा बनाउनुपर्ने बताउनुभयो । विश्वमा बदलिएको राजनीतिक परिस्थितिमा छिमेकमा रहेका दुई उदीयमान शक्तिराष्ट्रहरूले लिने रणनीतिले विशिष्ट हुने र नेपालको राष्ट्रिय सुरक्षामा प्रभाव पार्ने भएकाले हामीले पनि विशिष्ट चुनौतीहरू आउन सक्ने रक्षा सचिव दंगालले चेतावनी छ ।
नेपालका लागि साइबर, शरणार्थी, अन्तर्राष्ट्रिय सीमा र शक्तिराष्ट्रहरूको आकांक्षा अनुसार नेपालका लागि आउन सक्ने जटिल परिस्थितिबारे अहिले नै सचेत हुनुपर्ने र सुरक्षा निकायबीचको समन्वय अनिवार्य भएको सचिव दंगालले बताउनुभएको छ ।