बाँके । बाँकेको जयन्दु बाल सुधारगृहबाट बाहिर निस्केर आगजनी, लुटपाट र तोडफोडमा संलग्न भएका बालबन्दीमध्ये ३५ जनालाई स्थानान्तरण गरिएको छ ।
३५ जनालाई नौवस्ता सुधार गृहमा सारिएको र २४ जनालाई प्रहरी हिरासतमा राखि आवश्यक कारर्वाहीका लागी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता दिपक पातलीले जानकारी दिनुभयो ।
झडपका क्रममा घाइते भएका ४२ जना नै डिस्चार्ज भएको भेरी अस्पताल प्रशासनले जनाएको छ । झडपको क्रममा जलेर नष्ट भएका सरसामानहरू सफासुग्घर हुँदै गरेको सुधार गृहका कार्यालय प्रमुख विमला काउचा मगरले बताउनुभयो ।
अहिले पनि सुधारगृह आसपासका क्षेत्रमा सुरक्षाक्रमीले निगरानी गरिरहेको बताइएको छ । होली मनाउने विषयमा दुई पक्षबीच शुक्रबार विवाद हुँदा अवस्था असामान्य भएको थियो ।
यसअघि पनि जयन्दु सुधार गृहमा दुईसमूहबीचको झडपमा एक जनाको हत्या भएको थियो भने नौबस्तामा रहेको बालसुधार गृहमा दुई समूहबीच झडप हुँदा अवस्था असामान्य भएको थियो ।
नौवस्ताबाट फरार रहेका नौ जनालाई भने अहिलेसम्म पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।