वन संरक्षणका लागि वन कार्यालय पर्साले सुरु गर्‍यो विद्यालय शिक्षा कार्यक्रम

फाल्गुन २९, २०८१ |उपेन्द्र ठाकुर
वन संरक्षणका लागि वन कार्यालय पर्साले सुरु गर्‍यो विद्यालय शिक्षा कार्यक्रम

वीरगञ्ज । वन र वातावरणको संरक्षण र विकास सबैको साझा दायित्वभित्र पर्ने विषय हो । विभिन्न साझेदारहरुको सहभागितामा जोगाइदै आएको वनको संरक्षण र विकासलाई थप प्रभावकारी बनाउन डिभिजन वन कार्यालय पर्सा, विद्यालय शिक्षा कार्यक्रम लिएर गाउँबस्तीका विद्यालयहरुमा पुगेको छ ।

विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई वन र वातावरणको संरक्षणमा सहभागी गराउन डिभिजन वन कार्यालय पर्सा यतिबेला विद्यालय शिक्षा कार्यक्रम लिएर गाउँबस्तीका विद्यालय पुगेको हो ।

वनमा भैरहेको क्षयीकरणको प्रभावले निम्त्याउँदै गएको वातावरणीय असन्तुलनले मानव जीवनलाई नै अस्तव्यस्त बनाउँदै गएको छ । चुरे र वनक्षेत्रमा भैरहेको बस्तीको विकास र खोलानालाको अनियन्त्रित दोहनले जमिनमुनीको जलभरण प्रकृयालाई प्रभावित बनाउादा गर्मीयाममा पानीका श्रोतहरु सुक्ने क्रम बढदो छ ।

वातावरणमा बढने अत्यधिक तापमानले निम्त्याउने सुख्खा र खडेरीले वन र वनमा आश्रति वन्यजन्तुसँगै मानवको जीवनचक्रलाई प्रभावित बनाउँदै गएको छ । यहि अवस्था रहने हो भने आउने समय मानव जीवनका लागि निकै कष्टकर हुने देखिन्छ । वन र वातावरणलाई जोगाउन विद्यालयमा वन र वातावरण सम्बन्धि सचेतना आवश्यक देखिएको हो ।

तीन तहको सरकार, जिल्लास्थित वन कार्यालय र स्थानीय उपभोक्ताबिचको साझेदारी र समन्वयमा जिल्लास्थित वनहरुको संरक्षण र विकास हुँदै आएको छ । तर वनका साझेदारहरुमा वनको संरक्षणभन्दा पनि उपभोग गर्ने प्रवृति बढी हाबी हुँदा वनको संरक्षण र विकास चुनौतिपूर्ण बन्दै गएको छ ।

काठ दाउराका लागि एकातिर वनमा फडानी तिब्र बनेको छ भने फडानी भएपछि पुनरउत्पादन हुनुपर्ने वनका जग्गा बस्तिको विकास र खेतिपातीका लागि प्रयोग हुँदा वनको आकार सानो हुँदै गएको छ । सरकारले गर्ने विकास निर्माणका गतिविधिहरु प्नि यतिबेला वनमै केन्द्रीत हुनुले वनको संरक्षण झनै चुनौतिपूर्ण बन्दै गएको छ ।

वातावरणमा उत्सर्जन हुने कार्बनको सञ्चिती गरी स्वच्छ प्राणवायुको रुपमा रहेको अक्सिजन मानवलाई निःशुल्क रुपमा उपलब्ध गराउने वनको संरक्षण सबैको चासोको विषय हुनुपर्छ ।


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement