इकमायाको सफलताको कथा : अपहेलनादेखि उद्यमीसम्म

फाल्गुन २४, २०८१ |देव राना|कमल पन्त
इकमायाको सफलताको कथा : अपहेलनादेखि उद्यमीसम्म

सुर्खेत । सामान्य लेखपढले केही गर्न सकिँदैन भन्ने सोच राख्ने र श्रीमान्‌मै निर्भर हुनेहरू धेरै छन् । अनि आफ्नै पौरखमा रमाउन चाहने र सानो लगानीबाट पनि ठूलो आम्दानी गर्न सकिन्छ भन्ने दिदीबिहिनीहरू पनि यही समाजमा छन् । यस्तै मध्ये एक हुनुहुन्छ, सुर्खेतको वीरेन्द्रनगर-१० घर भई हाल वीरेन्द्रनगर-७ को लघु तथा घरेलु औद्योगिक ग्राममा 'सिस्ने गार्मेन्ट उद्योग' सञ्चालन गरिरहेकी इकमाया मल्ल नेपाली ।

कर्मले भाग्यलाई भन्छ, 'तँ आँट म पुर्‍याउँछु' । वीरेन्द्रनगर-१० कि इकमाया मल्ल नेपालीको जीवनमा पनि यस्तै भएको छ । कक्षा ८ सम्म मात्र अध्ययन गर्नुभएकी उहाँले घर खर्च चलाउन श्रीमान्‌मा निर्भर हुन नपरोस् भन्ने सोच्नुहुन्थ्यो । आत्मनिर्भर बन्ने सानैदेखिको यो सपना ०७७ सालमा आएर सिस्ने गार्मेन्ट उद्योग सञ्चालन गरेपछि मात्रै पूरा भयो ।

आफ्नै खुट्टामा उभिने सपना पूरा गर्न इकमायाले संघर्षका अनेक पहाडहरू छिचोल्नु पर्‍यो । अन्तरजातीय विवाहका कारण माइतीको तिरस्कार र समाजको अपहेलनाका बीच सपना पूरा गर्न काठमाडौं पुग्नुभयो । काठमाडौंको एउटा टेलरमा सिलाइकटाइको सीप सिक्नुभयो । अभ्यासको रूपमा काठमाडौंमै सानो सिलाइ कटाइ सुरु गर्नुभयो । संयोगले अधिकांश ग्राहक सुर्खेततिरकै भेटिए । त्यसपछि मात्र अब आफैंले गर्न सकिन्छ भन्ने आँट बोकेर सुर्खेत फर्किनुभयो र व्यवसायमा जोडिनुभयो ।

इकमायाको सफलताको पछाडि श्रीमान् र आमाको बलियो साथ छ । विवाह गरेको दुई दशकसम्म दाइहरूले अस्वीकार गर्दा पनि १० वर्षदेखि आमाले उहाँलाई सघाइरहनु भएको छ । आमा र श्रीमान् दुवै जना इकमायाको सपनालाई साकार बनाउन होस्टेमा हैसे थपिरहेका छन् ।

कामप्रति इकमायाको लगाव र संघर्षबाट उद्योगमा कार्यरत कर्मचारी पनि उत्प्रेरित छन् । आफूले भोगेर आएका कारणले होला उहाँ कर्मचारीसँग साथीभाइको व्यवहार गर्नुहुन्छ भने सिक्नका लागि सधैं प्रेरित गरिरहनु हुन्छ ।

२०७७ सालमा दश लाख लगानीमा व्यवसाय सुरु गर्नुभएकी इकमायाको गार्मेन्टलेले वार्षिक रूपमा झन्डै एक करोडको कारोबार गर्छ । १० जनाले रोजगारी पाएका छन् ।


Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।

Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।


Enter Kantipur TV HD
Advertisement