काठमाडौं । व्यवसायीहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण सीमित व्यक्तिको नियन्त्रणमा रहेको भन्दै सिन्डिकेट तोड्न सरकारसँग माग गरेका छन् । नेपाल मेडिकल व्यवसायी संघमा आबद्ध व्यवसायीहरूले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी २१२ वटा संस्थालाई इजाजत दिए पनि सरकारी मिलेमतोमै ५५ वटा संस्थाले एकाधिकार खडा गरेको आरोप लगाए ।
व्यवसायीहरूले स्वास्थ्य सेवा विभागका महानिर्देशकको संयोजकत्वमा गठित समितिको प्रतिवेदनले दिएको सुझाव कार्यान्वयन गर्न समेत माग गरेका छन् । श्रम मन्त्रालयले विदेश जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणलाई व्यवस्थित गर्न समिति नै गठन गरेको थियो ।
व्यवसायीका अनुसार ३२ वटा स्वास्थ्य संस्थाले अहिले वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्दै आएका छन् । त्यस्तै १९ वटा संस्थाले खाडीका देशमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गरेका छन् । कोरिया र इजरायल जाने श्रमिकको समेत सूचीकृत संस्थाबाट गराउन व्यवसायीले सुझाएका छन् ।
फर्जी मेडिकल रिपोर्ट बनाएर श्रमिक पठाएको भन्दै व्यवसायी र सरकारको आलोचना हुँदै आएको छ । मन्त्रीस्तरबाट गठित कमिटीले सुधारका सुझाव दिए पनि श्रम मन्त्रालयले कार्यान्वयमा ल्याउन सकेको छैन ।