काठमाडौं । जिल्ला अदालत सुनसरीले धरानमा मुख्य कार्यालय रहेको बराह बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका ११ मध्ये ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश मुकेश उपाध्यायको इजलासले पक्राउ परेका ११ मध्ये ८ जनालाई पुर्पक्षका लागि कारागार चलानको बिहीबार आदेश दिएको हो ।
बराह सहकारीको पौने ११ अर्ब बचत अपचलन मुद्दामा २६२ जनालाई प्रतिवादी बनाएर ठगी मुद्दामा अनुसन्धान गरिएको थियो । जसमा सञ्चालक मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया विश्वकर्मा, गंगाबहादुर विश्वकर्माकी श्रीमती सरिता कालीकोटे विक, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल -सुनार, फूलकुमारी भन्ने फूलमाया राई, सुदिन विक, महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई, विक्रम गजमेर पक्राउ परेका थिए । जतनमाया, सरिता र विष्णुकुमारीको हकमा भने अदालतले जनही पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।
सहकारीको १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको कसुरमा २६२ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले ऋण लिएर नतिर्ने ऋणीहरूलाई समेत प्रतिवादी बनाएर अभियोगपत्र दायर गरेको हो । सहकारीका सञ्चालक ३५ जनालाई संगठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ बमोजिम कसुरमा मुद्दा दायर भएको हो ।
बाँकी २२२ जनालाई सहकारी ऐन २०७४ बमोजिमको कसुरमा सजाय माग गरिएको अभियोगपत्रमा उल्लेख छ । मुद्दा दर्ता भएका २६२ जनामध्ये २१० जना ऋणीहरूलाई पनि प्रतिवादी बनाइएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ रकम हिनामिना तथा अपचलन गरी ठगी भएको बताइएको छ ।
४ हजार १६८ जना पीडितहरूले प्रहरीमा २८१ वटा जाहेरी दर्ता गराएको र सोही आधारमा अनुसन्धान भएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगमा सर्वसाधारणको बचत तथा सेयर जम्मा गरेको रकम व्यक्तिगत सम्पत्ति खरिद र बराह ग्रुप अफ कम्पनी अन्तर्गतका १४ कम्पनीमा लगानी गरेको उल्लेख छ ।