सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिकेमा आगलागी हुँदा गाउँपालिका कार्यालयको २ वटा शाखा जलेका छन् । आज दिउँसो करिब १ बजे गाउँपालिकाको प्रधानमन्त्री रोजगार शाखा, पूर्वाधार शाखा रहेको एक निजी घरमा आगलागी भएको हो ।
स्थानीय रुद्रबहादुर खत्रीको ढुंगा, माटो र टिनको छानो भएको २ तले घरको माथिल्लो तलामा आगो लागेको हो । विद्युत् शर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान प्रहरीको रहेको छ । हावाहुरीले पोल ढलेकाले दुई–तीन दिनदेखि बिजुली नभएको र आजै बिजुली आउनासाथ आगो लागेर कार्यालय जलेको गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले बताउनुभयो ।
स्थानीय, जनप्रतिनिधि र प्रहरीको सक्रियतामा हाल आगो नियन्त्रणमा लिइसकिएको छ । उक्त आगलागीबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । थप क्षतिको विवरण संकलन भइरहेको डीएसपी घिमिरेले बताउनुभयो ।