खुम्बुमा एकै दिन १८ उडानबाट भित्रिए १६६ विदेशी पर्यटक

फाल्गुन १७, २०८१ |भानुभक्त निरौला
खुम्बुमा एकै दिन १८ उडानबाट भित्रिए १६६ विदेशी पर्यटक

सोलुखुम्बु । वसन्त याम नजिकिएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु क्षेत्रमा पर्यटकहरूको चहलपहल सुरू भएको छ । स्प्रिङ सिजन (मार्च–मे) को पहिलो दिन शनिबार मात्रै तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा १८ वटा उडान मार्फत १६६ विदेशी पर्यटक भित्रिएका छन् ।

विभिन्न निजी कम्पनीका जहाज र हेलिकोप्टर मार्फत ९७ जना पुरुष र ६९ जना महिला गरी १६६ विदेशी पर्यटक लुक्ला विमानस्थल ओर्लेका हुन् । शनिबार तारा एअरको ६ वटा, सीता एअरको ४, समिट एअरको ३ र हेलिकोप्टर ५ गरेर १८ वटा उडान भएको हो । त्यस्तै सिजनको पहिलो दिन ५३ जना विदेशी पर्यटक बाहिरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । डीएसपी घिमिरेका अनुसार आज बिहानदेखि दिउँसोसम्म भने लुक्ला विमानस्थलको मौसम सफा रहेको थियो । खुम्बु क्षेत्रमा हिमपात भइरहेका बेला यहाँ भित्रिएका विदेशी पर्यटकहरू भने हिउँमा रमाउन थालेको पर्यटन व्यवशायी निराजन शर्माले बताउनुभयो ।

हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु भएकाले आरोहणका लागि यो सिजनमा बढी पर्यटक खुम्बु क्षेत्र आउने गर्छन् । सगरमाथा, ल्होत्से, आमादब्लम, चोयु जस्ता हिमाल आरोहणका लागि विदेशी यहाँ आउने गरेका छन् । पछिल्लो समय हिमाल आरोहणमा विदेशी नागरिकको आकर्षण बढ्दो छ ।


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजनका सोलुखुम्बु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement