काठमाडौं । विभिन्न जेन-जी समूह सहभागि रहेको जेन-जी मुभमेन्ट अलायन्सले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गरेको छ ।
अलायन्सले जेन-जी आन्दोलन भ्रष्टाचारविरूद्धको अभियान पनि रहेको भन्दै त्यसमा सहयोग गर्न अख्तियारका प्रमुख आयुक्तसहित आयुक्तहरूले राजीनामा दिनुपर्ने माग गरेको हो । अलायन्सले अख्तियारमा नेतृत्व गर्ने व्यक्तिहरुको नियुक्ति नै निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाविना भएकाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो । यस्ता व्यक्तिकै कारण अख्तियारले विश्वसनियता गुमाएको ठहर अलायन्सको छ ।
अलायन्सका अनुसार आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ विना गरेको र त्यसले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठेको हो । जेन-जी मुभमेन्ट अलायन्सले अन्तरिम सरकारलाई खुला आवेदन प्रक्रियामार्फत योग्यता र क्षमता भएका नागरिकलाई नयाँ आयुक्तका रूपमा नियुक्त गर्न आग्रह गरेको छ ।
यसैबीच सुदन गुरूङ नेतृत्वको जेन-जी समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न माग गरेको छ । सामाजिक सञ्जालमा एउटा फोटो पोस्ट गर्दै सुदन गुरूङले ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै सोसल मिडियामा ट्रेन्डको सुरूवात गरेको उल्लेख गर्नुभएको छ ।
'दि काउन्सिल अफ जेन-जी'को नामबाट यस्तो पोस्ट गरिएको छ । दुई नेतालाई तत्काल पक्राउ नगरे अर्को कदम चाल्न बाध्य हुने चेतावनी पनि दिइएको छ । फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा यो पोस्टलाई सयौंले सेयर गरेका छन् भने कमेन्ट पनि उत्तिकै गरेका छन् ।