उद्धार उडानमार्फत १५७ जना यात्रु काठमाडौं आए

आश्विन २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
उद्धार उडानमार्फत १५७ जना यात्रु काठमाडौं आए

काठमाडौं । अविरल वर्षा र बाढीपहिरोका कारण भैरहवामा अलपत्र परेका सयौँ यात्रुहरू नेपाल वायुसेवा निगमको विशेष उद्धार उडानमार्फत काठमाडौं आइपुगेका छन ।

दशैं बिदा र विभिन्न कामका लागि भैरहवा पुग्नुभएका यात्रुहरू बदलिएको मौसम र उडान अवरूद्ध हुँदा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा रोकिएका थिए। असोज १७ र १८ गतेदेखि परेको भारी वर्षाले सृजित बाढीपहिरोको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले उद्धार कार्यमा तत्परता देखाएको छ ।

निरन्तर वर्षाले देशका विभिन्न जिल्लामा बाढीपहिरो निम्त्याउँदा सडक र हवाई यातायातमा ठूलो अवरोध भएको थियो । भैरहवामा सामान्य अवस्थामा दैनिक १५ भन्दा बढी उडान हुने गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा दुई दिनसम्म उडान पूर्ण रूपमा ठप्प हुँदा ७सय भन्दा बढी यात्रुहरू अलपत्र परेका थिए ।

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता श्याम किशोर शाहले दिउँसो ३:४५ बजे काठमाडौंबाट भैरहवामा अवतरण गरेको नेपाल एयरलाइन्सको न्यारो बडी ए-३२० विमानले ७६ जना यात्रु लिएर आएको बताउनुभयो। सोही विमानले १५७ जना यात्रु बोकेर राति काठमाडौं फर्किएको छ।

भैरहवाबाट काठमाडौं आउनुभएका एक यात्रुले सरकारको कार्य अत्यन्त प्रशंसनीय भएको बताउनुभयो । उहाँले सरकार जनतासँगै छ भन्ने अनुभूति भएको उल्लेख गर्नुभयो । सरकारले उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी, वैदेशिक रोजगारीमा जानुपर्ने र अत्यावश्यक यात्रुहरूलाई प्राथमिकता दिइएको प्रवक्ता शाहले जानकारी दिनुभयो । 

भाडादर काठमाडौंबाट भैरहवाका लागि रू पाँच हजार र भैरहवाबाट काठमाडौंका लागि रू सात हजार तोकिएको थियो, जुन सामान्य भाडाभन्दा कम हो। प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहलमा यो उद्धार उडान भएको बताइएको छ । 

गृह मन्त्रालयले विपद् व्यवस्थापनका लागि ८ बुँदे निर्देशन जारी गर्दै स्थानीय तह, यातायात व्यवसायी र सङ्गठनहरूसँग समन्वय गरी अलपत्र यात्रुहरूलाई सहयोग गर्न सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.