सिरहा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रिंकु सदाको घरमा पुगेर न्याय दिलाउने आश्वासन दिनुभएको छ ।
जनजागरण अभियानको क्रममा सिरहा आइपुग्नुभएका दाहाल शनिबार बिहान सामूहिक जबरजस्ती करणीपछि मृत भेटिएकी रिंकु सदाको घरमा रिंकुको परिवारलाई भेट्न पुग्नुभएको हो ।
नवराजपुर गाउँपालिका-१ भगवतीपुरस्थित मुसहर बस्तीमा रहेको रिंकुको घरमा दाहालसँगै नेताहरू नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरू पनि पुग्नुभएको थियो ।
रिंकुको परिवारका सदस्यसँग भेटघाट र कुराकानी गर्दै दाहालले यो घटनाले आफू निकै दु:खी बनाएको र आफ्नो पार्टी न्यायका लागि आवाज उठाउने बाचा गर्नुभयो । 'हामी न्यायका लागि आवाज उठाउँछौं,' उहाँले भन्नुभयो, 'प्रहरीलाई पनि छिटो काम गर्न भन्छौं ।'
गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन जना युवकबाट सामूहिक जबरजस्तीमा परेकी थिइन् । उनी भोलिपल्ट बिहानमात्रै रुँदै घर पुगेकी थिइन् । तर, वडासदस्यसहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो ।
पञ्चायतीले पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायती नमिल्दा पीडक पक्षको धम्कीका बीच ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
प्रहरीले जबरजस्ती करणीमा संलग्न तीन जना र पञ्चाती गर्ने ५ जना गरी ८ जनाविरुद्ध जाहेरी लिएर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा तीन जना प्रहरीको नियन्त्रणमा छन् ।