काठमाडौं । सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले आगामी संसद् बैठकमा भूमि सहित ६ वटा अध्यादेश पेस गर्ने निर्णय गरेको छ ।
आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आगामी संसद् बैठकमा अध्यादेश पेश गर्ने निर्णय गरेको हो ।
अध्यादेश पेश गर्नु अघि सत्तारुढ दलहरूबीच छलफल गर्ने निर्णय समेत गरेको नेताहरूले बताएका छन् । संविधान कार्यान्वयनसँग सम्बन्धित नयाँ विधेयकहरू छिटो अघि बढाउने र सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउन सत्तारूढ दल कांग्रेस र एमालेका मुख्य सचेतक र प्रमुखसचेतकहरूले अन्य दलहरूसँग छलफललाई तीव्र पार्ने विषयमा छलफल भएका छन् ।
भूमिसहित ६ अध्यादेश जारी गरे पनि दुवै सदनबाट पारित गर्न सरकारलाई सकस परेको छ । प्रतिनिधि सभामा बहुमत पुगे पनि राष्ट्रिय सभामा सरकारसँग स्पष्ट बहुमत छैन ।
राष्ट्रिय सभामा निर्णायक रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिने निर्णय गरिसकेको छ । जसकाकारणले सरकार अप्ठ्यारोमा परेको छ ।