जनकपुर । मधेश प्रदेशमा एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनुको साटो शिक्षक-अभिभावकबाटै चिट चोर्ने-चोराउने प्रवृत्तिलाई मलजल हुँदैआएको छ ।
निजी विद्यालयहरूले शत प्रतिशत उत्तीर्ण गराउन सफल रहेको भन्दै विद्यार्थी तान्नकै लागि अभिभावकबाट असुलेको रकम दिएर सरकारी अधिकारीहरूलाई प्रभावमा पारी आफ्नो अनुकुलको विद्यालयमा परीक्षा केन्द्र राख्न लगाउने गरेको आरोपसमेत लाग्ने गर्छ । यो बीचमा जनकपुरधाम उपमहानगरपालिकाले भने विद्यार्थीको कमीकमजोरी सुधार गर्न एसईई पूर्वतयारी परीक्षा लिइरहेको छ ।
एसईई २०८१ को तिथि नजिकिदै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले पूर्वतयारी परीक्षा लिनथालेको छ । उपमहानगरपालिकाभित्रका २० सामुदायिक माविमध्ये १५ वटामा फागुन १२ गतेदेखि एकै साथ पूर्वतयारी परीक्षा सुरु भएको हो । यसमा झण्डै १५ सय विद्यार्थी सहभागी छन् ।
विद्यार्थीको मनोबल बढाउन र परीक्षामा सोधिने प्रश्नको कमी कमजोरी सच्याउन जनकपुरधाम उपमहानगरले यो अभियान सुरु गरेपनि धनुषाका अन्य पालिकाहरुले भने एसईई पूर्वतयारी परीक्षा लिएको पाइएको छैन । २०४६ को जनआन्दोलनपछि शिक्षक, अभिभावक र विद्यार्थीमा राजनीति हाबी भएपछि चिट चोराउने प्रवृत्ति मौलाएको जानकार बताउाछन् । पठन-पाठनमा सुधार ल्याउनुभन्दा विद्यालयका शिक्षक र अभिभावक नै एसईई परीक्षालाई अमर्यादित बनाउने खेलमा लागेको आरोप लाग्छ ।
एसईई परीक्षामा राम्रो अंकसहित उत्तीर्ण गराइदिने प्रलोभन देखाएर यहााका निजी विद्यालयहरूले अभिभावकबाट अतिरिक्त रकम असुल्ने गरेका छन् । परीक्षा समन्वय समितिलगायतका जिम्मेवार व्यक्तिलाई मोटो रकम दिएर आफ्नो अनुकूलको विद्यालयमा परीक्षा केन्द्र राख्न लगाउने गरेको भनेर समेत विवाद भइरहन्छ । एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन दक्ष र प्रतिष्ठित प्राचार्य र शिक्षकहरुलाई केन्द्राध्यक्ष र परीक्षा निरीक्षकको जिम्मेवारी दिनुपर्ने हो । तर, यसमा पनि राजनीतिक भागवण्डा र रकम लेनदेनको आधारमा जिम्मेवारी दिने गरेको आरोप लाग्छ । यसैबीच मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह अबको परीक्षमा चिट चोर्ने विद्यार्थीलाई नभई यसलाई मलजल गर्ने केन्द्राध्यक्ष र निरीक्षकलाई नै कारबाही गर्ने योजनामा हुनुहुन्छ ।
प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार गएको वर्ष मधेशका आठ जिल्लाबाट ८१ हजार ७ सय ६८ जना विद्यार्थीले एसईई दिएका थिए । यसका लागि २ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । यस वर्ष पनि सोही हाराहारीमा विद्यार्थी हुने आँकलन छ ।