सामाजिक सञ्जालमा पछिल्लो समय नेपालका केही लेखक, कलाकार, बुद्धिजीवी एवं अभियन्ताहरु डलरवादी, देशद्रोही र नेपाल बेच्ने दलालका रूपमा चित्रित हुँदैछन् । हिन्दु धर्मको विरोध गर्न वा नास्तिकता फैलाउन पैसा लिएको भन्दै चर्चित हास्य कलाकार जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सामाजिक सञ्जालमा प्रताडित गरिँदैछ । सामाजिक सन्जाललाई गलत प्रयोग गर्दा कतिसम्म असर पर्छ भन्ने यो भिडियोमा उहाँहरुको यो अभिव्यक्तिले झल्काउँछ ।
विदेशीसँग पैसा लिएर पुस्तक लेखेको आरोपमा चर्चित लेखकहरू कृष्ण धरावासी, नारायण वाग्ले, अमर न्यौपाने, खगेन्द्र संग्रौला, कुन्द दीक्षित, कनक दीक्षित, युग पाठक आदि पनि सामाजिक सञ्जालका पर्दामा रोषका तारो बनेका छन् ।
सामाजिक सञ्जालमा माथि उल्लेखित लेखकहरूले कुन कुन देशबाट पुस्तक लेख्न वा लेखन वृत्तिका लागि कति पैसा पाए भन्ने एक सूची सार्वजनिक भएको थियो । यसको तथ्य र वास्तविकता भित्र नछिरि कतिपयले देश बेच्ने दलाल लगायत अनेकौं गलत आरोप लगाउँदै सामाजिक सञ्जाल दूषित बनाएका छन् । सामाजिक सञ्जालमा असामाजिक सामग्रीलाई रमाइलो मानेर वा वास्तविकता नबुझी धेरैले सेयर, लाइक र कमेन्ट गर्छन् र भ्युज बढाइरहेका हुन्छन् । अल्गोरिदमले त्यही सामग्री दोहोर्याएर, तेहेर्याएर आउँछन् अर्थात भाइरल हुन थाल्छ । सामाजिक सञ्जाल आफैँमा खराब पटक्कै होइन । तर, उपयोग गर्न नजान्दा यसले गम्भीर समस्या निम्त्याइरहेको छ । सामाजिक सञ्जाल खोल्दा काण्डै-काण्ड भेटिनु यस्तै कारणले हो।
किन असामाजिक बन्दै छ सामाजिक सञ्जाल ? सञ्जालमा उत्तेजना, समाजमा रमिताको कारण के हो ? चर्चित कलाकार, पत्रकार, लेखक एवं अभियन्ताहरुलाई सामाजिक सञ्जालमा डलरवादीको आरोपमा प्रताडित बनाइँदा त्यसको उपचार के ? जसलाई जे मन लाग्छ त्यही पोस्ट गर्ने अभिव्यक्ति स्वतन्त्रता कि अराजकता ? सामाजिक सञ्जाललाई नियमन कसरी गर्ने ? सरोकारको आजको अंकमा हामी यिनै विषयमा बहस गर्दै छौँ । स्टुडियोमा निम्त्याएका छौँ-
त्रिभुवन विश्वविद्यालय पत्रकारिताका अध्येता - ऋषिकेश दाहाल, समाजशास्त्री- निर्मला ढकाल र विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शना ।