सुर्खेत । कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी खाली छ । कर्णालीमा दुई हजार ९३१ सामुदायिक विद्यालयमा ११ हजार ८६५ दरबन्दीमा मात्र शिक्षक छन् भने पाँच हजार ५४९ शिक्षक दरबन्दी रिक्त छन् ।
जसले गर्दा कर्णाली प्रदेशका अधिकांश विद्यार्थीहरू अंग्रेजी, विज्ञान र गणित विषयमा कम अंक ल्याउने गरेका छन् ।
वार्षिक परीक्षा सञ्चालन हुने बेलासम्म पूरै सेट किताब नपाउने कर्णालीमा बर्सेनि शैक्षिक गुणस्तर खस्किँदै गइरहेको छ । विगत तीन वर्षको माध्यमिक परीक्षा एसईईको नतिजा हेर्दा पनि प्रदेशको शैक्षिक गुणस्तर खस्किँदै गएको देखिन्छ । एसईई परीक्षाको नतिजा आइपुग्दा कर्णालीका अधिकांश विद्यार्थीलाई तीन वटा विषय अंग्रेजी, विज्ञान र गणित विषयमा अनुत्तीर्ण नतिजा आएको देखिन्छ । कर्णाली प्रदेशमा २०८० को एसईईमा ३७ हजार ४४९ विद्यार्थी विज्ञान, गणित र अंग्रेजी विषयमा नन ग्रेडमा परेका छन् ।
तीन विषयमा हुम्लाका पाँच विद्यालयमा संघीय अनुदान कोटामा विज्ञापन गरिएको छ । तर अहिलेसम्म कुनै शिक्षकको दरखास्त परेको छैन । विकट जिल्लामा तीन विषयका शिक्षकको अभावले विद्यार्थीहरूलाई मर्का परेको छ ।
कर्णालीका दुर्गम र सुगम क्षेत्रका विद्यालयमा पढाउने शिक्षकको तलब स्केल बराबर हुने भएकाले तीन विषयका शिक्षकको अभाव हुने गरेको छ । राज्यले अतिरिक्त सुविधा दिएर भए पनि कर्णालीका हिमाली तथा पहाडी जिल्लाहरूमा शिक्षक व्यवस्थापन गुर्नुपर्ने स्थानीय शिक्षकका भनाइ छ ।
संघ, प्रदेश र स्थानीय तहले विद्यालयलाई उपलब्ध गराउका अनुदान कोटामा अंग्रेजी, विज्ञान र गणितका विषयगत शिक्षक पाउन सकेको छैन । विद्यालयले पटक पटक विज्ञापन गरे पनि त्यसमा दरखास्त पर्दैन । अंग्रेजी, विज्ञान र गणित विषयको लाइसन्स भएका शिक्षक नहुनले पनि विद्यालयमा विषयगत शिक्षकको अभाव भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशमा ६०५ मावि विद्यालयमा एक हजार ७४९ शिक्षक अपुग छन् । मावि तहमा तीन हजार २५ शिक्षक हुनुपर्ने हो । तर अहिले एक हजार २७६ जना शिक्षक कार्यरत छन् ।