पर्सा । नेपाल आयल निगमले अब आवश्यकता र भण्डारण क्षमताका आधारमा नियमित रूपमा पाइपलाइनबाट पेट्रोल आयात गर्ने जनाएको छ । पछिल्लो पाँच वर्षदेखि पाइपलाइनबाट डिजल आयात गरिरहेको निगमले सोही पाइपलाइनबाट आंशिक रूपमा पेट्रोल र मट्टीतेल पनि आयात गरिरहेको छ । गत पुसमा पेट्रोल र मट्टीतेल आयातको सफल परीक्षण गरेको निगमले अब यसलाई नियमितता दिने भएको हो ।
२०७६ सालदेखि पाइपलाइनबाट डिजल आयात गर्दै आएको नेपाल आयल निगमको अमलेखगन्जस्थित प्रादेशिक डिपोले २०८१ को पुस महिनादेखि सोही पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सुरू गरेको हो । पहिलो चरणमा परीक्षणको क्रममा पाँच हजार पाँच सय किलोलिटर पेट्रोल र एक हजार किलोलिटर मट्टितेल आयात गरेको निगमले दोस्रो चरणमा १० हजार किलोलिटर पेट्रोल र एक हजार किलोलिटर मट्टितेल आयात गरिसकेको छ ।
हालसम्म पाइपलाइनबाट १५ हजार पाँच सय किलोलिटर पेट्रोल र दुई हजार किलोलिटर मट्टितेल आयात गरिसकेको निगमले आवश्यकता र भण्डारण क्षमतालाई मध्यनजर गरेर पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गरिने जनाएको छ ।
मोतिहारी-अमलेखगन्ज-रक्सौल पेट्रोलियम पाइपलाइनको नामले परिचित यो परियोजना अन्तर्गत पाईपबाट पेट्रोल र मट्टितेल आयात गर्न दोस्रो चरणको काम अन्तर्गत अमलेगन्जस्थित नेपाल आयल निगमको प्रादेशिक डिपोभित्र चार हजार एक सय किलोलिटरको दुई वटा ट्यांक थप निर्माण गरिएका छन् । यो परियोजना अन्तर्गत २५० किलोलिटरको दुई वटा ट्रान्समिक्स ट्यांकसँगै २४ वटा अटो लोडिङवे समेत निर्माण भएका छन् ।
पाइपबाट पेट्रोल र मट्टितेल आयात गर्न पम्प हाउस, अत्याधुनिक प्रयोगशाला, फायर फाइटिङ सिस्टम, आयल वाटर सेपेरेटर, र पीएमसीसी रूमहरूको निर्माण भएको हो । पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सन् २०२२ देखि पूर्वाधार निर्माण कार्य सुरू गरी २०२४ को जनवरीदेखि नै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयत गर्ने लक्ष्य लिएको नेपाल आयल निगमको दोस्रो चरणको पाइपलाइन निर्माण काममा भएको ढिलाइले एक वर्ष समय लम्बिएर जनवरी २०२५ देखि पेट्रोल र मट्टितेल आयात गर्न सुरू गरेको हो ।
पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात सुरू भएसँगै बरौनीबाट अमलेखगन्जसम्म ट्यांकरमा पेट्रोल र मट्टितेल ढुवानी गर्दै आएका व्यवसायीहरू आन्दोलनले केही समस्या उत्पन्न भएको थियो । यहाँ रहेका १०४ ट्यांकरलाई अन्यत्र व्यवस्थापन गर्न निगम र ढुवानी महासंघबीच समझदारी भएपछि बाटो खुलेको हो ।
भारतको रक्सौल र बरौनी डिपोबाट ट्रयााकर मार्फत इन्धन आयात गर्दै आएको नेपाल आयल निगमले आयातलाई सहज र मितव्ययी बनाउन पाँच वर्षअघि अर्थात् २०७६ भदौ २४ गतेदेखि पहिलो चरणमा पाइपलाइनबाट डिजल आयातको सुरूआत गरेको थियो ।
कुल दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ लागतमा निर्माण भइरहेको यो परियोजनामा भारतले दुई अर्ब र नेपालले ७५ करोड भारतीय रुपैयाँ लगानी गर्नुपर्ने र पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आवश्यक जग्गाको व्यवस्थापन नेपाल आयल निगमले गर्नुपर्ने सम्झौता भएको थियो ।