काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस र रूस अधिनस्थ युक्रेनी क्षेत्रमा पाइने दुर्लभ खनिज भण्डारसम्म अमेरिकालाई पहुँच दिने विषयमा आफू खुला रहेको बताउनुभएको छ । रसिया वन टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पुटिनले रूसी खनिज भण्डारको विकासका लागि अमेरिकाको सरकारी वा निजी दुवै क्षेत्रसँग मिलेर काम गर्न सकिने बताउनुभएको हो ।
पुटिनले साइबेरिया क्षेत्रमा पाइने एल्युमिनियमको उत्पादनमा रूस र अमेरिकाले साझेदारी गर्न सक्ने समेत बताउनुभयो । अमेरिका र युक्रेनबीच हुन सक्ने सम्भावित खनिज सम्झौता आफनो चासोको विषय नभएको बताउँदै पुटिनले युक्रेनभन्दा रूससँग निकै बढी मात्रामा खनिज स्रोत रहेको बताउनुभयो ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले अमेरिकी सहयोगको बदलामा दुर्लभ खनिज पदार्थ दिन युक्रेनमाथि लगातार दबाब दिइरहँदा पुटिनले यस्तो प्रस्ताव अघि सार्नु भएको हो ।
यसअघि युक्रेनकी उपप्रधानमन्त्री ओल्गा स्टाफनिशिनले खनिज भण्डारसम्म अमेरिकालाई पहुँच दिने सम्बन्धी सम्झौता वार्ता सहमतिको निकट पुगेको बताउनुभएको थियो । सुरूमा अमेरिकाले उसले रूस विरुद्धको युद्धमा युक्रेनलाई गरेको सहयोगका बदलामा दुर्लभ खनिजको ५० प्रतिशत हिस्सा वासिङटनलाई दिनुपर्ने प्रस्ताव गरेको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सो प्रस्ताव अस्वीकार गरेपछि नयाँ प्रावधानमा आधारित रहेर दुवै पक्षबीच वार्ता भइरहेको र सहमति निकट पुगेको बताइएको छ ।
उता युरोपेली संघले पनि युक्रेनसँग दुर्लभ खनिजको विकासमा साझेदारीको प्रस्ताव गरेको छ । औद्योगिक रणनीति सम्बन्धी युरोपेली आयुक्त स्टीफेन सेजोर्नले ईयूले राखेको प्रस्ताव अमेरिकाको जस्तो नभएको र यो दुवैका लागि जितको सम्झौता हुने बताउनुभएको छ । युक्रेनसँग ग्र्याफाइट, लिथिअम, टाइटानियमका साथै रेअर अर्थ एलिमेन्ट भनिने दुर्लभ खनिज पदार्थ भण्डारण रहेको बताइएको छ ।
अमेरिका फर्स्टको नीति अंगिकार गर्नुभएका ट्रम्पले अमेरिकी सहयोग र सुरक्षा प्रत्याभूतिका बदलामा मित्र राष्ट्रहरूबाट पनि उचित योगदान खोजेपछि वासिङटन र उसका परम्परागत मित्र राष्ट्रबीच फाटो देखिएको छ ।