सप्तरी । सप्तरीको राजविराज-भारदह सडक खण्ड निर्माणको समयसीमा पूरा भइसक्दा जम्मा १५ प्रतिशत मात्र निर्माण कार्य भएको छ ।
गत असारमै सकिने गरी राजविराज-भारदह खण्ड अन्तर्गत साढे ८ किलाेमिटर सडक निर्माणकाे ठेक्का साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि शम्भुनाथ सप्तरीले २५ करोड ७१ लाख ४६ हजार रुपैयाँमा पाएकाे थियाे ।
तर, ठेकेदार कम्पनीले निर्माण अवधि सकिसक्दासमेत अहिलेसम्म ८५ प्रतिशत काम बाँकी राखेको छ । सडक निर्माण नहुँदा आउ-जाउमा कठिनाइ भएकाे र दुर्घटनाकाे जाेखिमसमेत बढेकाे सडेपार, सप्तरीका झमेली यादव बताउनु हुन्छ ।
वर्षामा हिलो र सुक्खामा धुलोका कारण सडक छेउका बजार र बस्तीका बासिन्दालाई समस्या भएको छ । सडक डिभिजन कार्यालय लहानले अहिले फेरि ठेकेदार कम्पनीलाई एक वर्षको म्याद थप गरिदिएकाे छ ।
राजविराज–हनुमाननगर–भारदह खण्डअन्तर्गत झल्ही नहरको पुलदेखि साढे ८ किलोमिटरसम्म काम गर्नुपर्ने हाे । ठेकेदार कम्पनीले भने आफूहरूले काम गरे पनि सडक कार्यालयले भुक्तानी नदिँदा समस्या भएकाे दाबी गरेको छ । तर, सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णले ठेकेदारकाे कुनै बिल बाँकी नरहेकाे र अब पनि थपिएकाे म्याद २०८२ असारसम्म काम सम्पन्न नगरे कारबाही अगाडि बढाउने जानकारी दिनुभयो ।