रिंकुकुमारी मृत्यु प्रकरण : थप अनुसन्धानका लागि तीन जनालाई ५ दिनको म्याद थप

फाल्गुन १३, २०८१ |विनय आजाद
रिंकुकुमारी मृत्यु प्रकरण : थप अनुसन्धानका लागि तीन जनालाई ५ दिनको म्याद थप

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक जबरजस्ती करणी र शंकास्पद मृत्यु घटनामा तीन जनालाई ५ दिनका लागि म्याद थप भएको छ । प्रहरीले उनीहरूमाथि सोमबार सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको हो ।

प्रहरीले आइतबार यो घटनामा अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको थियो । तर, त्यसमध्ये एकजना निर्दोष पाइएपछि छाडिएको तीनजना माथि थप अनुसन्धानका लागि अदालतबाट पहिलोपटक पाँच दिनको म्याद लिएको प्रहरीले जनाएको छ ।

घटना सार्वजनिक भएपछि लेनदेन गरी मिलापत्र गराउने काममा उनीहरूको पनि संलग्नता प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

तर, घटनाका मुख्य आरोपितहरू भने अझै पक्राउ पर्न सकेका छैनन् । घटना सार्वजनिक भएपछि प्रहरीले जबरजस्ती करणीमा संलग्न तीन र पञ्चायती गरेर घटना गाउँमै मिलाउन खोज्ने पाँच गरी आठ जनाविरुद्ध पीडित परिवारबाट गत बिहीबार कर्तव्य ज्यान, शरीर बन्धक, जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहनको पूरक जाहेरी लिएको थियो ।

उनीहरूको मधेश प्रदेश प्रहरी, जिल्ला प्रहरी र लहानको इलाका प्रहरीको तीन वटा टोलीले खोजी गरिरहेको घटना छानबिन टोलीका संयोजक प्रदेश प्रहरीका एसएसपी शान्तिराज कोइरालाको भनाइ छ ।

गत माघ २७ को राति शौच गर्न बाहिर निस्केकी रिंकुकुमारी गाउँकै रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलको अपहरणपछि सामूहिक जबरजस्ती करणीमा परेका थिइन् । तर, पीडितलाई प्रहरीमा पठाउनुको साटो वडासदस्य नथुनी साह, रामपुकार मण्डल, रामपृत साह, रामकृपाल मण्डल, विन्देश्वरलगायतले घटना गाउँमै मिलाउन पञ्चायती गरेका थिए ।

माघ २९ र ३० मा गाउँकै दलानमा भएको पञ्चायतीले पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायतीमा आरोपितका आफन्त बीच नै पैसा तिर्ने विषयमा विवाद भएको थियो । त्यसपछि किशोरी ३० गते साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement