मध्यरातिको असिनाले सप्तरीका किसानलाई ठूलो क्षति

फाल्गुन १२, २०८१ |आरएन विश्वास
मध्यरातिको असिनाले सप्तरीका किसानलाई ठूलो क्षति

सप्तरी । आइतबार मध्यराति हावाहुरी र वर्षासँगै असिना खस्दा सप्तरीका किसानहरूले ठूलो क्षति बेहोर्नुपरेको छ । राति १२ बजेदेखि २ बजेसम्म वर्षासँगै निरन्तर असिना पर्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह क्षेत्रमा किसानको नगदे बालीमा ठूलो क्षति पुगेको हो ।

भारदहका २५० भन्दा बढी किसानले गहुँ, मकै, तोरी, केरा, लसुन-प्याज सहित लगाएको तरकारी खेतीमा क्षति पुगेको हो । स्थानीय युवा किसान श्यामकुमार राउतका अनुसार करिब एक सय बिघामा लगाएको गहुँ र मकै बाली असिनाले बर्बाद पारेको छ । यस्तै २५ बिघामा लगाएको केरामा समेत क्षति पुगेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र माझीले हावाहुरी असिनाले किसानलाई क्षति पुगेको जानकारी गराउँदै क्षतिको विवरण संकलन काम अगाडि बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि असोजमा कोशी नदीमा आएको बाढीले क्षति पुग्दा यस क्षेत्रका किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको थियो ।

स्थानीय सरकारसँग किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने बजेट नरहेकाले आवश्यक व्यवस्था गरिदिन मधेश प्रदेश सरकार र संघ सरकारसँग नगरप्रमुख माझीले आग्रह गर्नुभयो ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।