काठमाडौं । अहिले भक्तपुरमा वर्षा भईरहेको छ। जस्को असर अरनिको राजमार्ग अन्तर्गत काभ्रे र भक्तपुर सिमाना साँगामा परेको छ । दुई जिल्ला जोड्ने राजमार्ग नै पानी परेपछि एकतर्फी मात्र संचालन गर्नुपर्ने बाध्यता छ ।
आज बिहानदेखि परेको वर्षापछि भक्तपुर र काभ्रे सिमाना साँगामा एकतर्फी मात्र सवारी साधन संचालन भएको छ। काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्रै साँगबाट आउन दिएको र भक्तपुर हुँदै काभ्रे जाने दुई पांग्रे लगायत हल्का चार पांग्रे सवारीसाधनहरू जगातीबाट च्याम्हसिंह हुँदै नालाको बाटोबाट पठाईरहेको भक्तपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक प्रदिप खत्रीले जानकारी दिनुभएको छ ।
भक्तपुरबाट काभ्रे जाने ठुला मालबाहक सवारीसाधनलाई जगातीमै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ। सुर्यविनायक धुलिखेल सडक खण्ड निर्माणाधिन अवस्थामा रहेका कारण साँगा खण्ड हल्का वर्षाले नै हिलाम्म् हुने गरेको छ ।
जस्का कारण ठुला सवारीसाधन माथि उक्लनै नसक्ने, सडकमै भासिने गरेका छन भन् साना सवारी साधन चिप्लेर लड्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।