वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको खेल हुने सम्भावना न्यून

वैशाख ६, २०८२ |खेल ब्युरो
वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको खेल हुने सम्भावना न्यून

काठमाडौं । आईसीसी अन्डर-१९ पुरुष विश्वकप एसिया छनोटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा आज नेपाल र अफगानिस्तान प्रतिस्पर्धा गर्दैछन् । तर काठमाडौं उपत्यकामा बिहानदेखि वर्षा भइरहेकाे कारण खेल हुने सम्भावना न्यून छ । मूलपानीको तल्लो मैदानमा खेल नेपाली समयअनुसार बिहान साढे ९ बजे सुरू तालिका छ ।

यो खेल जित्ने टोलीले सन् २०२६ को जनवरी-फेब्रुअरीमा जिम्बावे र नामिबियामा हुने अन्डर-१९ पुरूष विश्वकपमा स्थान बनाउने छन् । दुवै टोली जित हात पार्दै विश्वकपमा स्थान बनाउने लक्ष्यमा हुनेछन् ।

लिग चरणमा दुवै टोलीको अपराजित यात्रा अब निर्णायक मोडमा आइपुगेको छ । दुवै पक्षले तीन-तीन खेलमा सानदार जित निकालेका थिए । नेपालले यूएईलाई डीएलएस पद्धतिमा ५ रन, ओमानलाई ८ विकेट र हङकङलाई ९ विकेटले हराएको थियो । 

उता अफगानिस्तानले ओमान र हङकङलाई समान ८-८ विकेटले हराउँदा यूएईमाथि डीएलएसका आधारमा १ सय ८० रनको जित दर्ता गरेको थियो ।

२०२४ मा दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकपमा अफगानिस्तान नेपालसँग समूह चरणमा पराजित भएर अगाडि बढ्न नसक्दा यसपटक उसले छनोट खेल्नुपरेको हो । अफगानिस्तानलाई हराएर नेपाल सुपर सिक्समा प्रवेश गरेको थियो ।

नेपाल र अफगानिस्तान सन् २००७ देखि हालसम्म १९ पटक आमनेसामने भएका छन् । जसमा १२ खेल अफगानिस्तान र ७ खेल नेपालले जितेको छ । छनोट प्रतियोगिताअघि सम्पन्न दुई देशबीचको ३ खेलको अभ्यास सिरिज अफगानिस्तानले २-१ ले आफ्नो पक्षमा पारेको थियो ।

न्यून बाउन्स प्राप्त हुने तल्लो मूलपानी मैदानको पीचमा स्पिन बलरहरू निर्णायक हुन सक्नेछन् । नेपालले यही मैदानमा अघिल्ला खेलमा एक जना मात्रै फास्ट बलर समावेश गरेको थियो । अफगानिस्तानले पनि स्पिन आक्रमणलाई बलियो बनाउने रणनीति अवलम्बन गर्ने सम्भावना छ ।

अहिले काठमाण्डौंमा पानी परिहेको छ । वर्षाका कारण खेल हुन नसके नेट रन रेटका आधारमा अफगानिस्तानले विश्वकपमा स्थान बनाउनेछ । विश्वकपमा स्थान बनाउन आज पुरै खेल हुनु र नेपालले जित हातपार्नु आवश्यक छ ।

आजै मूलपानीको माथिल्लो मैदानमा हुने लिग चरणको अर्को खेलमा युएई र हङकङ प्रतिस्पर्धा गर्ने छन् । दुवै टोलीको विश्वपक पुग्ने सम्भावना भने समाप्त भइसकेको छ ।