भारतमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी अनिवार्य गर्न माग

फाल्गुन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी अनिवार्य गर्न माग

काठमाडौं । सांसदहरूले भारतमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई नो अब्जेक्सन लेटर (एनओसी) अनिवार्य गर्न माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले रेकर्डका लागि भए पनि भारत जाने विद्यार्थीका लागि एनओसी अनिवार्य गर्न माग गरेका हुन् । 

सांसद रघुजी पन्तले भारतको केआईआईटी विश्वविद्यालयमा भएको घटनापछि ५ सयभन्दा बढी नेपाली विद्यार्थी घर फर्किसकेको उल्लेख गर्दै उनीहरू सुरक्षित रूपमा फर्केर पढ्ने अवस्था के छ भन्नेबारेमा सम्बन्धित मन्त्रीले सदनमा जवाफ दिनुपर्ने पनि माग गर्नुभयो ।

सांसदहरूले केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको पहलका लागि सरकार समक्ष माग गरे । 

यस्तै सांसदहरूले केबलकार निर्माणको विवादमा पाथीभरा क्षेत्र पुनः अशान्त हुन लागेको भन्दै वार्ताबाट समस्या समाधान गर्न माग गरेका छन् । थप तनाव निम्तन नदिन निर्माण तत्काल बन्द गरी मन्त्रीस्तरीय वार्ता गर्न पनि उनीहरूले माग गरेका छन् ।

माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारको लापरबाहीले नेपाल सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा नकारात्मक सूचीमा परेको भन्दै अहिलेका दलहरूलाई सरकार चलाउने नैतिक आधार नभएको दाबी गर्नुभयो ।

नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले केही दिनदेखि लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा आएका अभिव्यक्ति आपत्तिजनक भएको बताउनुभयो । उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्रभन्दा अरू हुन नसक्ने भन्दै कुनै पनि बहानामा गणतन्त्रमाथिको प्रहार सह्य नहुने बताउनुभयो ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय निकाय एफटीएफले नेपाललाई ग्रे लिस्टमा राखेको भन्दै यसले सरकार पूर्ण रूपमा असफल भएको पुष्टि भएको बताउनुभयो । उहाँले सरकारले नैतिक रूपमा राजीनामा दिएर मार्गप्रशस्त गर्न पनि माग गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement