काठमाडौं । नेपाली सेनाले विश्व शान्ति र स्थायित्वका लागि संयुक्त राष्ट्रसंघ मार्फत एक लाख ५४ हजार ३४० नेपाली सैनिकले योगदान गरेको बताएको छ । नेपाली सेनाले हालसम्म गरेका कार्यहरूका बारे जानकारी दिन आइतबार मुख्यालयमा आयोजित कार्यक्रममा यो जानकारी दिएको हो ।
नेपाली सेनाका युद्धकार्य निर्देशक सहायक रथी रवीन्द्र खत्रीले शान्ति स्थापनाका लागि खटिएका ७३ नेपाली सैनिकले वीरगति प्राप्त गरेको बताउनुभयो । उहाँले शान्ति कार्यमा खटिएका ६९ सैनिक घाइते भई आजीवन असहज जीवनयापन गरिरहको समेत बताउनुभयो । संयुक्त राष्ट्रसंघ मार्फत शान्ति सेनामा सैनिक खटाउने राष्ट्रमा नेपालको स्थान अग्रणी रहेको पनि उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “संयुक्त राष्ट्रसंघको छातामुनि रही विश्व शान्ति र स्थायित्वका लागि हालसम्म विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ५४ हजार ३४० जना नेपाली शान्ति सैनिकहरूले सहभागिता जनाइसकेका छन् । यस महान् कार्यको दौरान ७३ जना वीर नेपाली सेनाले ज्यान उत्सर्ग गरेका छन् भने ६९ सैनिकहरू घाइते हुन गई आजीवन असहज जीवनयापन गरिरहेका छन् । हाल ११ वटा मिसनहरूमा नेपाली महिला सैनिक ६४२ सहित कुल पाँच हजार ९१३ जना सैनिक शान्ति सैनिकको सहभागिताले फौज खटाई योगदान गर्ने राष्ट्रहरूको मर्यादा क्रममा नेपाल महिला र पुरुष सैनिक पठाउने राष्ट्रको सूचीमा अग्रणी स्थानमा रहेको जानकारी गराउन चाहन्छु ।”
नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्षण, एउटा शिकार आरक्षण र चुरे क्षेत्रको सुरक्षा र संरक्षणका लागि नौ हजार सैनिक खटिएको बताएको छ । नेपाली सेनाले मित्रराष्ट्रहरूका सेनासँग सैनिक तालिम तथा सैनिक उच्च अधिकारीहरूको भ्रमण र समन्वयात्मक बैठक गरी सैनिक कूटनीतिक गतिविधिबाट मित्रराष्ट्रहरूसँगको सम्बन्ध प्रगाढ बनाएको जानकारी दिएको छ ।