काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणको समयावधि थपिने भएको छ । नेपाली सेनाले हालसम्म गरेका कार्यहरूका बारेमा जानकारी दिन आइतबार सैनिक मुख्यालयमा आयोजित कार्याक्रममा द्रुत मार्गका प्रमुख उपरथी कमलविक्रम शाहले गत असोज १२ र १३ गतेको भीषण वर्षाका कारण निर्माण कार्यमा ढिलाइ भएको बताउनुभयो ।
उहाँले खोकनाको जग्गा विवाद समयमै हल हुन नसके निर्माणको समयावधि थपिने निश्चित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली सेनाले लिएको काम नगर्ने भन्ने त कुरै हुँदैन । त्यसमा त हामी दिनरात लागेर प्रयास गरिरहेका छौं । गत असोज १२ र १३ गतेको हेभ्भी रेन फलले गर्दाखेरी हाम्रो काममा धेरै ह्याम्पर गरेको कारणले पनि काममा केही डिले भएको हो । अब त्यो न्याचुरल डिजास्टरमा हाम्रो पनि हात हुने कुरा भएन, त्यसले गर्दा डिले भइरहेको छ ।”
असोज १२ र १३ गतेको भीषण वर्षाका कारण बख्खुबेंसीदेखि सिस्नेरीसम्मको फास्ट ट्र्याक निर्माणको भौगोलिक अवस्था नै परिवर्तन भएको नेपाली सेनाको भनाइ छ । उपरथी शाहले रुख कटानको काममा बढी समय लागेको कारणले पनि काममा ढिलो भएको बताउनुभयो ।