एक सातादेखि काठमाडौंको वायू प्रदूषण विश्वकै शीर्ष सूचीमा

फाल्गुन २, २०८१ |विकास आचार्य
एक सातादेखि काठमाडौंको वायू प्रदूषण विश्वकै शीर्ष सूचीमा

काठमाडौं । गएको असोज यता पानी परेको छैन । हावाको गति कम छ । उद्योग, कलकारखाना र सवारी साधनले निकाल्ने हानिकारक धुवाँ घटेको छैन । बढेको छ त केबल वायू प्रदूषण । एक सातादेखि काठमाडौं उपत्यकामा वायू प्रदूषण उच्च छ । सामान्यतया असोजदेखि माघको अन्त्यसम्म वायु प्रदूषण उच्च रहने गरेकोमा पछिल्लो समय भने फागुन लागेपछि वायु प्रदूषण उच्च हुँदै गएको छ ।

यो शुक्रबार बिहान ८ बजे काठमाडौंबाट खिचिएको दृष्य हो । अरुबेला यहाँबाट देखिने हिमश्रृंखला केहिदिनयता देखिएको छैन । हिमाल त टाढाको कुरा नजिकैको डाँडा पनि देखिँदैन । यहि हो वायु प्रदूषण । केहिदिनदेखि काठमाडौं विश्वका प्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा कायम छ । काठमाडौंको वायु प्रदूषण एक सय ५० देखि दुइ सय एक्यूआई मापन हुँदै आएको छ । काठमाडौंमात्र नभएर पोखरा, भक्तपुर, धनगढी, ललितपुर, हेटौंडामा पनि वायु प्रदूषण उच्च छ । यी क्षेत्रमा मापन गरिएको एक्यूआई पनि १५० देखि माथि छ । अर्थात् यी क्षेत्रको वायु स्वास्थ्यका दृष्टिले अस्वस्थकर छ ।

प्रदूषण उच्च हुँदा सर्वसाधरणमा आँखा पोल्ने, रुघाखोकी, स्वास प्रस्वासका समस्यालगायत स्वास्थ्य समस्या देखिन थालेका छन् । विभागले भने मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा शतर्कता अपनाउन सूचनामार्फत जानकारी गराउँदै आएको छ । मौसमी वर्षा टरेर जानु, वन डढेलो हुनु, प्लास्टिकजन्य फोहोर डढाउनु, उद्योग कलकारखाना र सवारीसाधनबाट निस्किएको धुवाँसहित सडक लगायतका संरचना निर्माणका क्रममा निस्किने धुलोले प्रदूषण बढाइरहेको छ । वातावरण विज्ञ भूषण तुलाधरले भने तह-तहका सरकारबीच समन्वय नहुँदा वायू प्रदूषण नियन्त्रण बाहिर गएको जिकिर गर्नुहुन्छ ।

सरकार आफैले ५ वर्षअघि प्रदूषण नियन्त्रणमा काम गर्ने एकीकृत केन्द्र बनाउने लक्ष्यसहितको काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना बनाएको भए पनि त्यो कार्यान्वयनमा आएन । सरकारी निकायका अधिकारीहरु र नीजि क्षेत्रका प्रतिनिधिले भने एकअर्कालाई दोष थोपर्ने गरेका छन् ।

वातावरण विभागको ५ वर्षको तथ्यांक अनुसार वर्षका करिब ५ महिना अर्थात १ सय ५० दिन वायु प्रदूषण उच्च रहने गरेको पाईएको छ । काठमाडौं लगायत शहरी क्षेत्रमा बिहान ८ देखि १० बजेसम्म र साँझ ३ देखि ५ बजेसम्म प्रदूषण उच्च रहने गरेको देखिन्छ । प्रदूषण उच्च रहेको र सरकारका योजना प्रभावकारी नदेखिएको बेला आफ्नो स्वास्थ्यको ख्याल आफैंले गर्नुको विकल्प हामीसँग छैन ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement