रसुवा । बुधबार फेरि रसुवागढीस्थित भोटेकोशी नदीमा बाढी आयो । बाढीले नाका क्षेत्रमा थप क्षति भएको छ । गत असार २४ गतेको बाढीका कारण टिमुरेस्थित भन्सार यार्डमा ठूलो क्षति भयो । सो बाढीले भत्काएको सडक निर्माणकै चरणमा हुँदा बुधबार आएको बाढीले भत्काइदिएको छ। बाढीले नेपाल-चीन मितेरी पुल मात्रै नभई भन्सार यार्डसमेत बगाएपछि नाका ठप्प हुँदा त्यहाँ आश्रित धेरैको रोजगारी खोसिएको छ ।
वार्षिक ३० अर्बभन्दा धेरै राजस्व संकलन गर्ने टिमुरे भन्सारमा मात्रै दैनिक ६ सयभन्दा धेरै मजदुरहरू भन्सार जाँचपास गर्न ल्याइएका सामान लोड र अनलोड गर्न खटिन्थे । तीमध्ये केही आसपासकै गाउँका थिए भने केही बाहिरबाट आएका ।
असार २४ गतेको बाढीले मितेरी पुलसँगै भन्सार यार्ड क्षति हुँदा त्यहाँ काम गर्ने मजदुर अहिले बेरोजगार बनेका छन् । उनीहरूलाई कसरी जीविका चलाउने भन्ने चिन्ता छ ।
लेन्दे खोलामा आएको बाढीले दुई देश जोड्ने मितेरी पुल र भन्सार यार्ड बगाउँदा त्यहाँ काम गर्ने मजदुर मात्र हैन आयात र निर्यात ठप्प हुँदा सो क्षेत्रका व्यवसायी पनि मारमा परेका छन् । भन्सारमा जाने सेवाग्राही र चीनबाट आउने पर्यटकका कारण सधैँ चहलपहले हुने बजार सुनसान बन्दा त्यहाँको व्यापार व्यवसायसमेत ठप्प छ ।
बगाएको मितेरीपुल भएको स्थानमा चीनले अस्थायी बेलिब्रिज लगाउने तयारी गरिरहेको छ। पुल बनेर सवारीसाधन नाकाबाट ओहोरदोहोर गर्न थाले भने पनि भन्सार यार्ड बगेका कारण तत्काल भन्सार जाँचका लागि पालो पर्खिने सवारीसाधन पार्किङ गर्ने ठाउँ छैन ।
यो यार्ड २ अर्ब १६ करोड रूपैयाँ चिनियाा सहयोगमा ५८ रोपनीमा दुई वर्षअघि बनाइएको थियो । तत्काल भन्सार सञ्चालन गर्न कठिन देखिएकाले यो नाकाबाट हुने राजश्व संकलनमा त असर पर्छ नै यसले यहाँ बसेर पेसा व्यवसाय गर्दै आएका व्यापारी, व्यवसायी र मजदुर प्रत्यक्ष प्रभावित भएका छन् ।
भन्सार खुलेपछि त्यहाँका नागरिकहरू यही भन्सारमा आश्रित थिए । झडै ६ सय भन्दा बढि मानिस यही भन्सारसँग सम्बद्ध रहेर रोजगारी प्राप्त गरिरहेका थिए । बाढीपछि आयात-निर्यात ठप्प भएका कारण मानिसहरू बेरोजगार भएका छन् । यसको प्रभाव दीर्घकालसम्म पर्ने देखिएको छ ।