समयमै रोपाइँ भएका प्यूठानका फाँटहरू हराभरा, किसानहरू धानखेत गोडमेलमा व्यस्त

श्रावण १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
समयमै रोपाइँ भएका प्यूठानका फाँटहरू हराभरा, किसानहरू धानखेत गोडमेलमा व्यस्त

प्यूठान । देशैभर अहिले औसतभन्दा कम रोपाइँ भएको छ । पर्याप्त पानी नपर्दा र सिँचाइ अभावमा देशैभर रोपाइ कम भएको हो । तर यतिबेला प्यूठानको फाँटभने हराभरा छ ।

सरदर जेठको दोश्रो साताबाट प्यूठानका फाँटहरुमा रोपाई सुरु हुन्छ । तर लगातारजसो परेको पानी र सिँचाई सुबिधाले यो बर्ष प्यूठानमा जेठको पहिलो साताबाटै रोपाइ भयो । यतिबेला देशका कैयौं भुभागमा रोपाई गर्न किसान आकासे पानी कुरिरहेका छन् । तर प्यूठानका किसान जेठमा रोपाइ गरेको धानमा पलाएको झार गोडमेलमा ब्यस्त छन् ।

जिल्लाको धान रोपाइ हुने क्षेत्रफल मध्ये करिव ७५ प्रतिशत भु-भाग झिमरुक नदिको पानीले सिंचित हुँदै आएको छ । बाँकी रहेका खेतहरुमा अन्य खोलाको पानीले सिँचाइ सुबिधा पुर्‍याएको छ । छिटफुट क्षेत्रमा आकासे पानीको भरमा रोपाई हुने गरेपनि नियमित जसो परेको पानीले यो बर्ष जिल्लाभर एकसाता छिटो रोपाइ सम्पन्न भएको हो । हाल जिल्लाभर ९७ प्रतिशत भन्दा धेरै क्षेत्रमा रोपाई सम्पन्न भैसकेको छ ।

बाह्रै महिना सिँचाई सुविधा हुने प्यूठानको झिमरुक फाँटसंगै जिल्लाभर ६ हजार पाँच सय २५ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको छ । यो बर्ष जिल्लामा ६ हजार ३ सय ३० हेक्टरमा धान रोपाई सम्पन्न भैसकेको सरकारी तथ्यांक छ । प्रतिहेक्टर ३.८ मेट्रिकटन उत्पादकत्व रहेको यस क्षेत्रमा बार्षिक २४ हजार ७ सय ९५ मेट्रिकटन धान उत्पादन हुने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.