चितवन । पूर्व गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने चितवन जिल्ला अदालतमा बयान दिन चितवन आइपुग्नुभएको छ ।
लामिछाने गए राति नै काठमाडौंबाट स्थलमार्ग हुँदै चितवन आइपुग्नुभएको रास्वपा चितवनका सभापति कृष्ण भुसालले जानकारी दिनुभयो । लामिछाने आज १० बजे नै चितवन जिल्ला अदालतमा उपस्थिति हुने बताइएको छ । अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले लामिछाने चितवन अदालतमा उपस्थित भएपछि बयानबाट अदालती प्रक्रिया सुरू हुने बताउनुभयो । बयानपछि दुई पक्षको बहस हुनेछ भने लगत्तै थुनछेक आदेश आउने छ ।
जिल्ला सरकारी वकिल कार्यालयले हिजो साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी गरेको अभियोगमा लामिछाने सहित १५ जना विरुद्ध पूरक मुद्दा दायर गरेको थियो । योसँगै हालसम्म चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी गरेको अभियोगमा ३२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । जसमध्ये १२ जनालाई ठगी तथा संगठित अपराधमा मुद्दा दायर गरिएको छ भने लामिछाने सहित २० जनालाई ठगी मात्रै मुद्दा दायर गरिएको छ ।
रविका साझेदार जीबी राई र छविलाल जोशीलाई ठगी र संगठित अपराध दुवै कसुरमा मुद्दा दायर गरिएको छ । यस मुद्दामा जोडिएका धेरैजसो फरार छन् । फरार रहेका हकमा म्याद जारी गरेर पठाइने र पुर्पक्षका लागि थुनामा रहेकाहरूलाई बयानका लागि उपस्थित गराई दिन पत्राचार गरिने श्रेष्तेदार आचार्यले बताउनुभयो ।
हिजो दर्ता गरिएको मुद्दामा लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत दफा २४९ को उपदफा १ र २ विपरीत कसुर गरेको भन्दै दफा २४९ को उपदफा ३ (ग) बमोजिम सजाय हुने माग दाबी लिइएको छ । उक्त दफामा कुनै किसिमले ठगी गरेमा ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने उल्लेख छ । यस्तै तत्कालीन गोर्खा मिडिया नेटवर्कमा रहेकाहरूलाई अपचलन भएको रकमको सामूहिक बिगो माग दाबी समेत गरिएको छ ।
साहारा सहकारीको १० करोड ८० लाख १८ हजार रुपैयाँ गोरखा मिडिया नेटवर्कमा गएपछि लामिछाने यस मुद्दामा जोडिनुभएको हो । यसअघि लामिछानेले सरकारी वकिल कार्यालयको रोहबरमा दुई दिन लगाएर बयान दिनुभएको थियो । यसअघि पोखरा, काठमाडौं र बुटवलका सहकारी रकम अपचलन मुद्दामा लामिछानेलाई धरौटीमा छाड्ने आदेश आएको थियो ।
साहारा सहकारीका पीडित बचतकर्ताले २०८० असोज ९ मा चितवन प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढेको थियो । सहकारीको बचतकर्ताको उजुरीको आधारमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई सहित १७ जना विरुद्ध गत असोज ८ गते ठगी मुद्दा दायर भएको थियो । प्रतिवादीहरू फरार रहेकाले उक्त मुद्दा अघि बढेको छैन । त्यस बेलाका १७ जना र अहिले थप १५ सहित ३२ जना विरुद्ध मुद्दा चलेको हो ।
साहारा सहकारीको ५२ करोड रुपैयाँ अपचलन भएकोमा ३८ करोड ९ लाख ९९ हजार १७७ रुपैयाँ माग दाबी गर्दै बचतकर्ताले उजरी दिएका थिए । बाँकी १४ करोड २३ लाख ६ हजार १३१ रुपैयाँको पूरक जाहेरी परेको बखत मुद्दा दर्ता गर्ने गरी अभियोजन दर्ता गरिएको सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ६ वटा कम्पनीतर्फ ४३ करोड ३२ लाख ७ हजार ९२८ रुपैयाँ अपचलन भएको देखिएको छ ।