बाँके । गत बुधबार दाउरा खोज्न जंगल पसेकी ६७ वर्षीया चेती बुढालाई आक्रमण गरी ज्यान लिने बाघ, चितुवा वा अरू कुन वन्यजन्तु हो भन्ने पहिचान गर्न बाँके राष्ट्रिय निकुञ्जले घटनास्थलमा तीन वटा क्यामरा जडान गरेको छ । वनमा जुनसुकै वन्यजन्तुले आक्रमण गरे पनि बाघले आक्रमण गरेको भन्ने खबर फैलिन थालेपछि निकुञ्जले पहिलोपटक वास्तविकता पत्ता लगाउने प्रयास थालेको हो ।
बाँके राष्ट्रिय निकुञ्ज कार्यालयबाट करिब २ किलोमिटर दक्षिण यो ठाउँमा दाउरा खोज्न हिँडेकी ६७ वर्षीया चेती बुढाको बुधबार दिउँसो वन्यजन्तुको आक्रमणमा मृत्यु भयो । एकातिर दाउराको भारी बाँधिसकेको अर्कातिर बाँध्न बाँकी देखिन्छ । चप्पल घटनास्थलमै देखिन्छन् । यहाँबाट घिसार्दै एक सय मिटर उत्तर ल्याएर खाएको पाइएको निकुञ्जका अधिकारीले बताएका छन् । घटनापछि बाघले आक्रमण गरेको भन्ने खबर फैलियो ।
त्यसले दुर्लभ पाटेबाघ संरक्षणमा लागेको निकुञ्जका अधिकारीलाई चिन्तत त तुल्यायो नै उनीहरू वास्तविकता पत्ता लगाउनुपर्ने दबाबमा परे । जसका कारण यो स्थानमा तीन वटा क्यामरा जडान गरी अध्ययन तथा पहिचान कार्य भइरहेको छ ।
मानिसलाई एकपटक आहारा बनाइसकेपछि बाघ र चितुवा फेरि त्यही ठाउँमा आउजाउ गर्ने भएकाले निकुञ्जले यहाँ क्यामरा जडान गरेको हो । क्यामरा जडान भएयता यो ठाउँमा पटकपटक चितुवा आइरहेको देखिएको छ । जसका आधारमा मावनबस्ती नजिक र मनिसको धेरै चहलपहल हुने क्षेत्रमा यसअघि भएका घटनामा बाघले नभई चितुवाले आक्रमण गरेको हुनसक्ने आकलन छ । यस्तो जोखिम हुँदाहुँदै पनि निकुञ्ज वरपरका बस्तीका नागरिक जंगल पस्न भने छाडेका छैनन् ।
बाँकेमा २०७५ सालदेखि यो माघसम्म ६ वर्षभित्र निकुञ्ज वरपरका बस्तीका ५ जना मानिसको बाघ र चितुवाको आक्रमणमा मृत्यु भएको छ । जुन क्षेत्रमा शिकारी वन्यजन्तु देखिने गर्छन् यस्तै जंगलमा घाँस दाउरा हुने हुनाले ज्यानकै माया मारेर पनि जंगल पस्नुपरेको स्थानीय बताउँछन् ।
निकुञ्जका अधिकारीले वन नजिकका बासिन्दालाई घाँसदाउरा गर्न वन पस्दा सचेत रहन आग्रह गर्दै आएका छन् । तर पनि जोखिमयुक्त जंगलमा मानिसको आउजाउमा कमी आएको छैन ।