काठमाडौं । पाथीभरा मुक्कुमलुङका आन्दोलनरतपक्ष र सरकारबीच ६ बुँदे सहमति भएको छ ।
आन्दोलतरतपक्ष र सरकारी वार्ता टोलीबीच ललितपुरको एक होटलमा भएको वार्तामा पाथीभरा केवलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमित भएको हो ।
यसैगरि सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने सहमति भएको छ । माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमति पनि भएको वार्ता टोलीका संयोजक नेपाल सरकारका सहसचिव प्रेम प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरूको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने, मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्नुका साथै मुक्कुमलुङ संरक्षक पक्षधरहरूबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न माघ २७ गते बिहान ११:०० बजे वार्तामा बस्ने सहमति भएको छ ।