पाथीभरा केबलकार विवाद : सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरू

माघ २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाथीभरा केबलकार विवाद : सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरू

काठमाडौं । पाथीभरा केबलकार स्थापना सम्बन्धी विवाद समाधान गर्न सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरू भएको छ । गृह मन्त्रालयद्वारा गठन गरिएको वार्ता टोली र आन्दोलनरत पक्षबीच आज अपराह्नदेखि वार्ता सुरू भएको हो ।

सरकारले हिजो गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति बनाएको थियो । समितिले केबलकार निर्माणका विषयमा स्थानीयले उठाएका माग र विकास निर्माण दुवैको सम्बोधन हुने गरी पहल गर्ने जनाइएको छ ।

यसअघि गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशबाट निर्वाचित सांसदहरूसँग पनि छलफल गर्नुभएको थियो । अहिले गठन भएको वार्ता टोलीले विवाद समाधानको विकल्प खोज्ने गृह मन्त्रालयको भनाइ छ ।

कोशी प्रदेश सरकारद्वारा गठित वार्ता समितिले पनि आन्दोलनका कारण प्रदेशको जनजीवन प्रभावित रहेकाले शान्तिपूर्ण वार्तामा बसेर समस्या समाधानका लागि आग्रह गरेको छ । कोशी सरकारले केही दिनअघि वार्ताका लागि आर्थिक मामिलामन्त्री रामबहादुर मगरको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको थियो । प्रदेश अथवा केन्द्र सरकार, जुन समितिसँग बसे पनि वार्ताबाटै समस्या समाधान गर्न मन्त्री मगरको आग्रह छ ।

‘नो केबलकार’ भन्दै ताप्लेजुङमै आन्दोलन गरिरहेको समूहले गृह मन्त्रालयको वार्ता टोलीसँग सहजीकरणका लागि ४ सदस्यीय समिति गठन गरेपछि वार्ता भएको हो । अमर तुम्याहाङको संयोजकत्वमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक सदस्य रहेको समिति गठन गरिएको हो । 

पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर एक सातादेखि आन्दोलन भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement