काठमाडौं । न्याय परिषद्को सदस्यमा दामोदर खड्का नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एसोशिएशनको सिफारिस अनुसार खड्लाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको हो ।
आइतबार संसदीय सुनुवाइ समितिले खड्काको नाम अनुमोदन गरेको थियो ।
नेपाल बार एसोशिएशनले संसदीय सुनुवाइको लागि न्याय परिषद्को सदस्यमा खड्काको नाम सिफारिस भएको पत्र समितिलाई पुसको २९ गते पठाएको थियो । न्याय परिषद्मा प्रधानन्यायाधीश, कानुनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र दुई सदस्य रहने संवैधानिक व्यवस्था छ । ती दुई सदस्यमध्ये एक जना प्रधानमन्त्रीको सिफारिसमा र अर्को नेपाल बार एसोशिएशनको सिफारिसमा नियुक्त हुने व्यवस्था छ । न्याय परिषद्का सदस्यको पदावधि चार वर्षको हुने संवैधानिक प्रावधान छ ।