धनगढी । स्थानीय मुद्दामा राष्ट्रिय बहस थालेको कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘महानगर महाबहस’ अन्तर्गत धनगढीमा स्थानीय सरकारले निर्वाह गर्नुपर्ने तमाम भूमिकाका सवालमा छलफल भएको छ । अस्वस्थताका कारण धनगढी उपमहानगरका प्रमुख गोपाल हमाल उपस्थिति हुन नसकेपछि कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपप्रमुख कन्दकलाकुमारी रानाले नगरवासीका चासो र चिन्तालाई सम्बोधन गर्नुभयो ।
धरै स्थानीय तहमा प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूबीच सहकार्यको अभाव देखिइरहँदा धनगढीमा भने एकजु्ट भएर भौतिक पूर्वाधार र सरसफाइका क्षेत्रमा नमूना काम गरेको उपप्रमुख रानाले बताउनुभयो । त्यस्तै, छाडा गाईबस्तु व्यवस्थापन गर्न गौशाला निर्माण, फोहरमैला व्यवस्थापन, उज्यालो धनगढी अभियानलाई प्राथमितामा राखेर काम गरिएको उहाँको दाबी छ । सबै वडामा प्रत्येक महिना वडा विशेषज्ञ क्लिनिक, खोजी खोजी अपाङ्गता सहायता सामग्री वितरण र आम साइकल चालकलाई सहज र सजिलो गर्न साइकल लेन बनाइएको र थप ठाउँहरूमा बनाउने काम जारी रहेको उहाँको भनाइ छ ।
उपप्रमुख रानाले धनगढी उपमहानगरले शिक्षामा विशेष लगानी गरेर सामुदायिक विद्यालयको गुणस्तर माथि उठाउन पहल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रधानाध्यापकहरूलाई जिम्मेवारी तोकिएको छ, पूर्वाधारमा सुधार ल्याएका छौं, अभिभावकहरूसँग नियमित बैठक भइरहेको छ र शिक्षकहरूलाई तालिम दिइरहेका छौं ।”
२०८० को एसईई परीक्षामा धनगढीको सामुदायिक विद्यालयबाट २४ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएकोमा अबको एसईईमा कम्तीमा त्यो ५० प्रतिशतमाथि पु्र्याउने गरी शिक्षा क्षेत्रमा मिहिनेत गरिरहेको बताउनुभयो । “आमा बचाउ कार्यक्रम अन्तर्गत हरेक आमालाई निःशुल्क रूपमा अस्पताल ल्याउने लैजाने काम गरिँदै आएको छ,” रानाको भन्नुभयो, “सर्पदंश, आगलागी, बाढी जस्ता विपद्मा तत्काल उद्धारका लागि तत्काल नगर प्रहरी पुग्ने व्यवस्था गरेका छौं ।”
कार्यक्रममा सहभागीहरूले उपमहानगरपालिकाले सरसफाइ, शिक्षा, स्वास्थ्य, सडक विस्तार, हरियाली प्रवर्द्धन, सडक बत्ती जस्ता क्षेत्रमा केही सकारात्मक पहल गरिरहेको उल्लेख गर्दै आगामी दिनमा गर्नुपर्ने कामबारे सुझाव दिएका छन् । कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले करको दरभन्दा दायरा बढाउन उपमहानगरलाई आग्रह गर्नुभयो । युवालाई स्वरोजगार बनाउने योजना स्वरूप रोजगार मेला राम्रो भएको बताउँदै ओझाले प्रत्येक वडामा वार्षिक कम्तीमा ५ जना युवालाई स्वरोजगार हुनेगरी कार्यक्रम ल्याउन उपप्रमुखलाई सुझाव दिनुभयो ।
धनगढी–३ वोराडाडीस्थित त्रिभुवन माविका प्रधानाध्यापक सीताराम अवस्थीले सामुदायिक विद्यालयप्रति समुदाय र अभिवाकको दृष्टिकोण परिवर्तन गराउन महानगरले पहल गर्नुपर्ने औंल्याउनुभयो । संस्कृतिविद् तथा साहित्यकार पदमराज जोशीले धनगढी विकास मोडेल राम्रो भएको बताउँदै यसलाई निरन्तरता दिँदै देशव्यापी यसको अनुसरण गर्ने बनाउनुपर्नेमा जोड दिनुभयो ।
धनगढी–३ की नीता चन्द शाहीले मुख्य सडकहरू झकिझकाउ भए पनि भित्री सडक बन्न नसकेको गुनासो गर्नुभयो । उहाँले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
थारू समुदायका अगुवा माधव चौधरीले फोहर व्यवस्थापनका नाममा घरको कोठा अनुसार शुल्क लिने काम गलत भएकाले सच्याउन आग्रह गर्नुभयो । धनगढी लेडी जेसीजकी अध्यक्ष संगीता न्यौपानेले सेती प्रादेशिक अस्पतालमा विगत र अहिलेमा कुनै सुधार नभएकाले यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । स्थानीय नेत्रा सिवाकोटीले सडकमा ट्राफिकबत्ती जडान नहुँदा सर्वसधारणलाई समस्या भइरहेको विषय उठाउनुभयो ।
उपमहानगरभित्र लागूऔषध दुर्व्यसनीमा परेका युवाको संख्या बढ्दै गइरहेको तर्फ उपमहानगरपालिकाले ध्यान दिन नसकेको भन्दै सहभागीहरूले चिन्ता व्यक्त गरे ।
सुदूरपश्चिम यातायात व्यावसायी समितिका प्रमुख देवीलाल जोशीले ग्रामीण भेगमा सञ्चालन गर्न भनी सुरू गरिएका नगर बसहरू गाउँमा नगए धनगढी–अत्तरियामा मात्र केन्द्रित भएको भन्दै उपप्रमुखको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा मुस्लिम महिला अधिकारकर्मी माया निहार अन्सारीले धनगढीमा बसोबास गरिरहेका मुस्लिम समुदायका बालबालिकाहरूको उपमहानगरले जन्मदर्ता समेत नगरिदिँदा बालबालिकाहरू शिक्षाबाट वञ्चित भइरहेको गुनासो गर्नुभयो ।
कार्यपालिका सदस्य अनिल भोजनियाले स्वतन्त्र मेयर सहित विभिन्न दलबाट आएका जनप्रतिनिधिले राम्रो समन्वयका साथ काम गरिरहेको बताउनुभयो । उद्यमशीलताको विकास गर्न उत्पादनतिर जोड दिनेगरी अबको योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
धनगढी–३ का वडाअध्यक्ष राजबहादुर ऐरले भएको स्रोत–साधनबाट अधिकतम काम गर्न खोजे पनि बजेट अभावकै कारण जनअपेक्षा अनुसार नतिजा दिन नसकेको बताउनुभयो ।
जनप्रतिनिधि र सरोकारवालाको प्रश्न र गुनासोलाई उपप्रमुख रानाले साकारात्मक सुझाव भन्दै बाँकी रहेको कार्यकालमा जनताका उपेक्षा पूरा गर्नेतर्फ सिंगो उपमहानगपालिका टिम लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।