काभ्रे । बेथानचोक गाउँपालिकाको सिमाना थामलेकमा लागेको डढेलो नियन्त्रणमा आए पनि पूर्णरुपमा निभ्न सकेको छैन । वनमा लागेको डढेलो फैलिनसक्ने क्षेत्रमा नियन्त्रण भइसकेको तर खोँचहरुमा अझै आगो निभाउन बाँकी रहेको बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार रमितेडाँडा र ज्वानोथुम्कामा लागेको डढेलो नियन्त्रणमा आएको छ । शुक्रबार हेलिकोप्टरबाट २४ पटक गरी २४ हजार लिटर पानी खन्याएपछि डढेलो नियन्त्रण हुँदै गएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
बेथानचोकको २ नम्बर वडामा रहेको एक पार्कको पोखरीबाट हेलिकोप्टरले पानी उठाएर डढेलो लागेको क्षेत्रमा खन्याएको थियो । हिजो पनि सुरक्षाकर्मी तथा स्थानीय मिलेर डढेलो नियन्त्रणमा लिने प्रयास जारी राखेका थिए ।
गत मंगलबारदेखि महाभारत क्षेत्रको २० वर्गकिलोमिटर वन क्षेत्रमा डढेलो लागेको थियो ।