कांग्रेस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकढिक्का भएर संसदमा एक स्वरका साथ एउटै आवाज उठाउन पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ ।
शनिबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभगी मन्त्रीहरूसँगको छलफलमा सभापति देउवाले यस्तो निर्देशन दिनुभएको हो । सभापति देउवाको भनाइ उद्धृत गर्दै बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले सभापति देउवाले केही असन्तुष्टि भए पार्टीको बैठकमा राख्न र संसद र बाहिर प्रस्तुत हुँदा व्यक्तिगत नभइ पार्टीको रुपमा आफ्ना धारण राख्न निर्देशन दिनुभएको बताउनु भयो ।
बैठकमा मन्त्रीहरूले सरकारमा भएका काम, कारबाहीबारे जानकारी गराउनुभएको बताउनु भयो । उहाँकाअनुसार बैठकमा वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसदमा प्रस्तुत भएका विधेयकहरू, अध्यादेश र आउने विधेयकहरूका विषयमा गहन रुपमा छलफल भएको छ । नेपाली कांग्रेस एक ढिक्का भएर एउटै आवाज र एउटै स्वरका साथ संसदमा प्रस्तुत हुने र बाहिर पनि एकढिक्का भएर प्रस्तुत हुने निर्णय भएको बताउनु भयो । आर्थिक पक्षमा तत्काल केही सुधार गर्नुपर्ने भएकाले र मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन केही विधेयक संशोधन गर्नैपर्ने बाध्यता भएकाले अध्यादेश ल्याएको कुरा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले राख्नुभएको बताउनु भयो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधनका विषयमा सरकारले गम्भीरताका साथ गृहकार्य थालेको जानकारी दिनुभयो । उहाँले पार्टी बाहेक पनि सरकारको तर्फबाट संविधान संशोधनका लागि छुट्टै संयन्त्र बनाएर काम अघि बढाउनेबारेमा सरकारमा सहभागी मन्त्रीहरूले जानकारी गराउनुभएको बतउनु भयो । उहाँले आर्थिक गतिविधि चलायमान गर्नको लागि अध्यादेश ल्याएको र सबैले स्वागत गरेको बतउनु भयो ।
विचाराधिन विधेयक संसदबाट छिटो पारित गर्नेबारेमा छलफल भएको बताउनु भयो ।