धरानका मेयर साम्पाङको अख्तियारलाई जवाफ : हिँड्दै हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न आउनु

माघ ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
धरानका मेयर साम्पाङको अख्तियारलाई जवाफ : हिँड्दै हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न आउनु

सुनसरी । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई अर्थात् हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधेको पत्रको जवाफ ठेट र उटपट्याङ शैलीमा दिनु भएको छ । 

माघ २ गतेको पत्रको जवाफ भन्दै साम्पाङले आज अख्तियारलाई पठाएको पत्रमा धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भएको जनाउँदै यसले नगरबासीलाई पानीको आपूर्ति गर्न सबैखाले विधि अपनाउन सक्ने उल्लेख गर्नु भएको छ ।

'बिहान उठ्ने बित्तिकै टोइलेट जानुपर्छ पानी छैन भने के हुन्छ त्यो भनिरहन पर्दैन होला', उहाँले अख्तियारलाई पठाएको जवाफी पत्रमा लेखिएको छ, 'केही छिनपछि भात पकाउनु परो । भात पकाउन पानी चाहिन्छ । भात खाएपछि हातमुख चुठ्नुपरो त्यसको लागि नि पानी चाहिन्छ । जुठोभाँडा लडाइराख्न मिलेन धुनै परो त्यसका लागि नि पानी नै चाहिन्छ ।'

पानीको प्रयोग कहाँ-कहाँ हुन्छ भन्ने सबै उल्लेख गर्दै मेयर राईले पत्रमा बेलिबिस्तार लगाउनु भएको छ । उहाँको पत्रमा आफूले श्रमदान गरेर कसरी पानी ल्याइयो भन्ने सबिस्तार वर्णन गरिएको छ । कोशीको पानी धरानलाई दिन्छु भन्ने सिंहदरबारले वर्षौंदेखि बिन्ति बिसाउँदा पनि नसुनेकाले भोजे गाग्री लिएर सिंहदरबार पुगेको समेत उहाँले उल्लेख गर्नु भएको छ ।

'जनतालाई पानी चाहिएको छ है तत्कालै पानी चाहिएको छ । आश्वासन र कागजको खोस्टा होइन पानी चाहिएको छ के,' उहाँको पत्रमा छ, 'त्यसैले हाम्ले श्रमदान गर्नुपरेको हौ...खोई कुरा बुझ्या ।'

उहाँले श्रमदानमा अनियमितता भयो भन्दै वाइयात उजुरी दिनेले कतिवटा पाइप किनेर दियो, कति श्रमदान गर्‍यो भन्दै प्रश्नसमेत गर्नु भएको छ । उहाँले अख्तियारलाई कोकाहा खानेपानी श्रमायोजन-२ चलिरहेको जनाउँदै लेख्नु भएको छ, 'एक दिन आउनु है मुहानबाट धरानसम्म हिँड्दै हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न । कम्ता रमाइलो छैन ।'

मेयर साम्पाङले पानीमा राजनीति गर्नु हुँदैन भन्दै 'पानी माग्न जनता त्यता आउलान् है फेरि !' अख्तियारलाई लेखेको पत्रको बिट मार्नु भएको छ ।

यस्तो छ मेयर साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखेको जवाफ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement