विपिनको रिहाइमा आशावादी परिवार

माघ ४, २०८१ |हरिश्चन्द्र बाग
विपिनको रिहाइमा आशावादी परिवार

कञ्चनपुर । इजरायल र हमासबीच १५ महिनाअघि सुरू भएको युद्धका क्रममा हमासले बन्धक बनाएका कञ्चनपुरका युवक विपिन जोशी फर्किने आशा अझै मरेको छैन । विपिनका बुबा-आमा र बहिनी सहित आफन्तहरू आज पनि सरकारले विशेष पहल गरेर विपिनलाई सकुशल नेपाल फर्काउने आशामा बसेका छन् । इजरायल र हमासबीच भएको पछिल्लो युद्धविरामले विपिनको घरमा फेरि एकपटक आशाको सञ्चार गरेको छ।

प्यालेस्टाइनको लडाकु समूह हमासको नियन्त्रणमा रहेका ९४ जना बन्धकमध्ये एक हुनुहुन्छ, नेपाली विद्यार्थी विपिन जोशी । युद्धविरामको खबरले कञ्चनपुरका विपिन जोशीको परिवारलाई केही आशावादी त बनाएको छ, तर पहिलो चरणमै विपिन रिहा हुने सम्भावना कम देखिएपछि बेचैनी पनि उत्तिकै बढेको छ ।

इजरायल र हमासबीच भएको सम्झौता अनुसार पहिलो चरणमा ३३ जना बन्धक रिहा हुनेछन्, जसमा बालबालिका, महिला सैनिक, गैरसैनिक र ५० वर्षमाथिका व्यक्तिहरू समावेश छन् ।

“विपिन हमासको बन्धक भएको १५ महिनाभन्दा बढी भइसक्यो । युद्धविरामको समाचारले हामीमा केही आशा पलाएको छ । नेपाल सरकारले सम्बन्धित देशहरूसँग पहल गरेर विपिनलाई रिहा गराइदिनु हुने आशा छ”, विपिनका बुबा महानन्द जोशीले बताउनुभयो ।

यसअघि गत वर्ष केही दिनका लागि भएको युद्धविरामका क्रममा नेपालको कूटनीतिक पहल नपुगेकै कारण विपिनको रिहाइ हुन नसकेको परिवारको बुझाइ छ । तर अब दुई पक्षबीच युद्धविराम हुँदा सरकारले यो मौका गुम्न दिन नहुने विपिनकी आमाको अनुनय छ ।

“अहिले पनि युद्धविराम भइरहेको छ । यसमा पनि इजरायली मात्र छुट्ने भनिरहेका छन् । जुन देशले पहल गरेका छन् ती देशका नागरिक त छुट्न सक्लान् । त्यसकारण सरकारलाई मेरो आग्रह छ- प्लिज यो मौका नगुमाइदिनु होला । मेरो छोरा रिहाइ गराइदिनु होला”, विपिनकी आमा पद्मा जोशीले बताउनुभयो ।

युद्धको समयमा बन्धक बनाइएका विपिन सहित सबैको रिहाइका लागि यो सम्झौता महत्त्वपूर्ण मानिएको छ । त्यसो त परराष्ट्रमन्त्री आरजु राणाले इजरायलका मन्त्री र राजदूत तथा कतारका विदेश राज्यमन्त्रीसँग विपिनको रिहाइका लागि पहल बढाइदिन आग्रह गरिसक्नुभएको छ । यी सबै घटनाक्रमका बीच विपिनका परिवारजन मात्र नभई सिंगो देश नेपाली विद्यार्थी विपिनको सुरक्षित घर फिर्तीको प्रतीक्षामा छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement