नार्पाभूमिका बस्तीमा न सडक न बत्ती

माघ ४, २०८१ |रासस
नार्पाभूमिका बस्तीमा न सडक न बत्ती

मनाङ । गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश र प्रत्येक स्थानीय तहसम्म सडक सञ्जालले जोड्ने लक्ष्य पूरा भएको घोषणा गर्ने अवस्थामा पुगेको छ । तर, प्रदेशकै मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका भने हालसम्म न सडक सञ्जालले जोडेको छ, न त बिजुली बत्ती नै विस्तार हुन सकेको छ ।

विद्युत् अभावले यहाँका पालिकाबाट दिइने सेवामा समस्या आउने गरेको छ । पालिकासम्म पुग्नै पैदल हिँडेर दुई दिन लाग्छ । बिजुली अभावले सेवा प्रवाह समयमा हुनै सक्दैन । सौर्य ऊर्जाको भरमा पालिकाका कार्यालयबाट सेवा प्रवाह गर्दै आए पनि सबैजसो दिन घाम नलाग्दा समयमा काम नै हुन नसक्ने अवस्था रहेको कर्मचारी बताउँछन् ।

स्थानीय सरकारले कार्यालयसम्म सडक सञ्जाल पुर्‍याउने उद्देश्यले वार्षिक रूपमा बजेट छुट्याउँदै आएको गाउँपालिका अध्यक्ष कुञ्जो तेञ्जिङ लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकावासीलाई सेवा प्रवाह र यात्रा सहज बनाउने लक्ष्यका साथ सडकलाई बजेट व्यवस्थापन गर्दै आएका छौँ, पालिकाले मात्र सम्भव त छैन, तर कोसिस गरिरहेका छौं ।”

अध्यक्ष लामाले एकै पटकमा सडक र विद्युत् पुर्‍याउन सकिने अवस्था नभए पनि प्रदेश सरकारसँग समन्वय भइरहेको बताउनुभयो । देशका अन्य वडा भवनसम्म सडक कालोपत्र गरिसकिएको अवस्था रहे पनि नार्पाभूमिमा सडक सञ्जालको ट्र्याक मात्र पनि खोल्न नसक्दा दुःखी भएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक र विद्युत् नपुगेका क्षेत्रमा पुर्‍याउने लक्ष्य सहित काम अगाडि बढेको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “प्रदेशका प्रत्येक सडक र विद्युत् नपुगेका क्षेत्र मुख्य प्राथमिकतामा छन्, ती क्षेत्रमा चालु आर्थिक वर्षमा नै केही कामको थालनी हुन्छ, बजेट पूर्ति गर्न नसक्ने अवस्थामा संघ सरकारसँग पहल गरेर भए पनि सडक र विद्युत् पुर्‍याउने लक्ष्यमा छौं ।”

प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले नार्पाभूमिमा सडक सञ्जालले जोड्नका लागि ट्र्याक मात्र खोल्न अनुमानित रू एक अर्बभन्दा बढी लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकार टनेल बनाएर अगाडि बढे पनि बजेट पुर्‍याउन सकिने अवस्था छैन, चालु आवमा योजना निर्माण गरी कार्यान्वयनको पक्षमा छौँ ।”

“सडक सञ्जाल यसै वर्ष पुर्‍याउन नसकिए पनि बत्ती भने पुर्याउँछौं, कहीं सौर्य ऊर्जा, कहीं विद्युत् पुर्‍याउने लक्ष्य हो, सोही अनुसार बत्ती चालु आवमा पुर्‍याउनेछौं”, डा देवकोटाले भन्नुभयो ।

यस पालिकाका कर्मचारी सामान्य सेवा प्रवाहमै सकस भएपछि पालिकाको सेवा सदरमुकाम केन्द्रित भएर दिनुपर्ने अवस्था रहेको बताउँछन् ।

मनाङ पर्यटकीय क्षेत्र समेत हो । यहाँ भ्रमणका लागि आउने पर्यटकलाई स्थानीयवासीले उत्पादन गरेका खाद्यान्नले मात्र पुग्दैन । खाद्यान्न तथा विकास निर्माणका सामग्री ढुवानीका निम्ति सडक सञ्जाल सहज नहुँदा समस्या छ । जोखिम सूचीकृत क्षेत्र भएकाले यहाँ आउने पर्यटक बिरामी परेमा अझ समस्या पर्ने गरेको छ । बिरामी भएमा महँगो मूल्यमा हेलिकप्टर नै चार्टर गर्नुपर्ने हुन्छ ।



Enter Kantipur TV HD
Advertisement