कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी-बेलौरी क्षेत्र पहिले निकै उर्वर थियो । सो भूमिमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले अढाई दशकअघि महाकाली सिँचाइ प्रणालीको दोस्रो चरण लागू गरियो । तर, नहर सञ्चालन भएपछि बेलडाँडी र बेलौरीमा हजारौं बिघा उर्वर भूमि दलदलमा परिणत भयो ।
उर्वर भूमि दलदल बनेपछि यसले किसानको जीविकोपार्जनमा पनि गम्भीर असर पार्यो । तर यस वर्ष बाढीले नहर भत्किँदा पानी रोकिएपछि झिलमिलाको झन्डै दुई सय बिघामा लहलह हिँउदे बाली झुलेको छ । जसले नहरको उचित व्यवस्थापनको खाँचो औँल्याएको छ ।
महाकाली सिँचाइ प्रणालीको दोस्रो चरण २०५४ सालमा सुरू भएको थियो । जसले कञ्चनपुरको दक्षिणी क्षेत्रका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्य राखेको थियो । तर, कच्ची नहरको कमजोर संरचनाका कारण २०५८ सालदेखि बेलडाँडी र बेलौरीको हजारौं बिघा खेतीयोग्य जमिन दलदल, बगर र सिमसारमा परिणत भयो । यद्यपि, यस वर्ष असारमा चौधर नदीमा आएको बाढीले नहर भत्किएपछि नहरमा पानी बन्द भएको छ । यसले अन्य क्षेत्रमा सिँचाइ असुविधा भए पनि दलदल भने सुक्न थालेको छ ।
त्यसमध्ये झिलमिला क्षेत्रमा मात्रै लगभग २०० बिघा जमिनमा हिउँदे बाली लगाइएको छ, जसले राम्रो उपजको आशा देखाएको छ ।
कच्ची नहरको सिपेजका कारण अढाइ दशकयता हजारौं बिघा खेतीयोग्य जमिन बाँझै रह्यो । पानी आपूर्ति बन्द भएपछि झिलमिला क्षेत्रमा मात्रै झन्डै पाँच सय बिघा जमिन सुक्न थालेको छ । पहिले दलदलमा परिणत जमिनका कारण कष्ट भोगेका किसान खेती गर्न पाउँदा खुशी छन् । कच्ची नहर मर्मत गरेर फेरि सञ्चालनमा ल्याउँदा विगतकै समस्या दोहोरिने होला भन्ने पीर पनि छ ।
नहर पक्की बनाएर मुनिपट्टि पक्की ड्रेन निर्माण भयो भने दलदलको समस्या न्यून हुनसक्छ । खाँचो नपरेका बेला नहरमा पानी नछाडेमा पनि समस्या कम हुने देखिन्छ । उर्वर भूमि दलदलमा परिणत भएपछि घर चलाउन भारतमा मजदूरी गर्नुपर्ने यहाँका नागरिकको बाध्यता छ ।
महाकाली सिँचाइ प्रणालीको व्यवस्थापनमा सुधार गर्दै यो समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारले ठोस कदम चाल्न आवश्यक छ ।