काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फास्ट फुड तथा रेष्टुरेन्टहरूले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा भएको फास्ट फुड एसोसिएसन नेपालको ८औं राष्ट्रिय अधिवेशनमा बोल्दै उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो ।
उहाँले व्यवसायीहरू पनि उपभोक्ता भएकाले फास्ट फुड तथा रेष्टुरेन्टहरूले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय गुणस्तरका विषयमा प्रश्नहरु उठ्दै आएकाले त्यसमा विचार पुर्याउन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
उहाँले होटेल तथा फास्ट फुडहरु ठूलो स्पेस र पूर्वाधारहरुले मात्रै पाँच तारे हुन नसक्ने बताउनु भयो । उहाँले पाँच तारे हुनको लागि गुणस्तरीय हुन आवश्यक रहेको बताउनु भयो । उहाँले महानगरले फास्ट फुडहरुमा विभिन्न खालका स्टार स्टिकरहरु राख्ने अभियानमा रहेको बताउनु भयो ।
उहाँले महानगरले राम्रो काम गर्ने व्यवसायीहरुलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले भन्नुभयो,‘ महानगरले फास्ट फुडहरुमा विभिन्न खालका स्टार स्टिकरहरु राख्ने अभियानमा छ । राम्रो काम गर्ने व्यवसायीहरुलाई प्रोत्साहन मिल्छ । राम्रो गर्न सक्नु भएको छैन भने गुणस्तरमा पाँच तारे बन्छु र राम्रो बन्छु भनेर राम्रो गर्ने प्रयास गर्नुहोला ।’
उहाँले महानगरले व्यवसायीहरुको व्यापार व्यवसाय सहजिकरणको लागि काम गरिरहेको बताउनु भयो ।