पाल्पा । सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु सेरेमोनी’ माघ ११ गते हुने भएको छ । यसअघि माघ ८ गतेलाई तय भएको कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीको समय अभावका कारण ११ गतेलाई सारिएको हो ।
सुरुङ खन्ने वा ठूला निर्माणको क्षेत्रमा ‘ब्रेक थ्रु’ लाई उत्सवका रूपमा मनाइने भएकाले विशेष कार्यक्रम राखिएको सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको सचिवालयबाट माघ ११ गतेलाई समय पाएकाले सोही अनुसार तयारी भइरहेको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पनि आफूलाई प्रधानमन्त्रीको सचिवालयबाट माघ ८ गते हुने कार्यक्रमलाई ११ गते गर्ने भन्ने जानकारी आएको बताउनुभयो ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबामा निर्माणाधीन सुरुङमार्ग खनेर सक्न अब १.५ मिटर मात्र बाँकी छ । ११ सय २६ मिटरको सुरुङमध्ये खन्नुपर्ने भाग १ हजार ८९ मिटर मात्रै भएको छ । जसमध्ये ‘ब्रेक थ्रु’ का लागि १.५ मिटर बाँकी राखी १ हजार ८७.५ मिटर सुरुङ खनेर सकिएको छ । दक्षिणतर्फ ६०८ र उत्तरतर्फ ४७९.५ मिटर सुरुङ खनिएको छ ।
यसअघि नै तीन वटा बाइपास टनेल मुख्य टनेलसम्म जोडिएको छ । बाइपास एक- १५१, दुई- १६१ र तीन- १३० मिटर टनेल रहेको छ ।
मुख्य टनेल ब्रेक थ्रु गरेपछि सुरुङभित्रको भुइँ र भित्तामा लाइनिङ गर्ने कामलाई तीव्रता दिइने छ । गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलानको काम अघि बढेको छ । त्यसपछि विद्युतीकरण, भेन्टिलेशन, नाली लगायतका कामलाई गति दिइने आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले बताउनुभयो । सुरुङमार्गको भौतिक प्रगति ३९.४९ प्रतिशत र वित्तीय प्रगति ३९.९ प्रतिशत भएको उहाँले बताउनुभयो ।
सिद्धबाबा क्षेत्रमा अहिलेको सडकमा पहिरो जान रोक्न ‘रक शेड’ प्रविधिबाट दक्षिणमा १ हजार ४९५ वर्गमिटरको काम भएको छ । उत्तरतर्फ ४९५ वर्गमिटर ‘प्रोटेक्शन’ को काम अघि बढेको छ । अहिले चालु सडकमा रक शेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्शनको काम हुनेछ ।
चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का लिएको छ । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्शन (ईपीसी) मोडलको ठेक्का भएको हो ।
माघ ११ गतेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–गोरुसिंगे सडक शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ ।